भोलि वहुमत सदस्य उपस्थित भएर विपक्षी दलका नेताहरु अदालत जाने


काठमाडौं, ९ जेठ । राष्ट्रपति र प्रधानमन्त्रीले गरेको प्रतिनिधिसभा विघटन र मध्यावधि निर्वाचन घोषणाको विरुद्ध विपक्षी पाँच दलका नेताहरु भोलि (सोमबार) सर्वोच्च अदालत जाने भएका छन् ।

आज तयारी गर्दागर्दै नभ्याएकाले भोलि जाने नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जानकारी दिए । सांसदहरुको हस्ताक्षरलगायत डकुमेन्टको तयारी भएको र रिटको ड्राप्ट बेलुकीसम्म टुंगिने प्रचण्डको भनाइ छ ।

‘रिट तयार भइरहेको छ । अन्तिम ड्राप्टमा पुगिसकेको छ । बेलुकीसम्म टुंगिन्छ । फिजिकल्ली नै बहुमतको उपस्थितिमा भोलि अदालत जाने जाने तयारी छ । आजै जाने विचार थियो । तयारी गर्दागर्दै ढिला भयो । १४९ मा हस्ताक्षर नगर्ने केही सांसद पनि थपिनुभएको छ । १४९ सांसद घट्नु भएको छैन’, उनले भने ।

राष्ट्रपति र प्रधानमन्त्रीको कदम असंवैधानिक भएको भन्दै यसका विरुद्ध राजनीतिक र कानुनी लडाइँ लड्ने विपक्षी पाँच दलको निर्णय बमोजिम सांसदहरुको हस्ताक्षर र नागरिकता संकलन गरिएको हो ।

ती दलका सांसदहरूसहित शेरबहादुर देउवा, पुष्पकमल दाहाल, माधवकुमार नेपाल, उपेन्द्र यादव, दुर्गा पौडेल लगायत नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा आइतबार भेला भए । दलहरूले छुट्टाछुट्टै रूपमा हस्ताक्षर संकलन र नागरिकताको फोटोकपी संकलन गरेर संयुक्त रूपमा नयाँ बानेश्वरमा जम्मा भएका हुन् ।

प्रतिक्रिया दिनुहोस्