‘भ्रष्ट्राचारीलाई आँखा चिम्लिएर कारबाही गराउँछु’


काठमाडौं, १६ वैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले भ्रष्टाचार नियन्त्रण र कानूनी राज कायम गराउने सवालमा कुनै संझौता नहुने बताएका छन् । प्रदेश ५ को प्रदेशसभा बैठकलाई आईतबार बुटवलमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भ्रष्टाचार नियन्त्रण र कानूनी राजको बिषयमा कठोर बन्ने घोषणा पनि गरे ।

‘कठोर बन्यो भन्नुहोला, बढी नै कठोर भयो पनि भन्नुहोला, तर म भ्रष्टचार नियन्त्रण र भ्रष्टाचारीमाथिको कार्वाहीमा म कठोर नै बन्छु, आँखा चिम्लिएर कार्वाही गराउँछु, को मेरो नजिक छन वा सहयोगी हुन भनेर हेर्ने छैन,’ प्रधानमन्त्री ओलीले भने । प्रधानमन्त्री ओलीले अव कुनै प्रकारकोअनुचित कामलाई स्वीकार नगर्ने घोषणा पनि गरे ।
‘अनुचित कुरासँग सरकारले कुनै संझौता गर्दैन, सिण्डकेट मान्दैन, भ्रष्टाचार रोकिन्छ, मैले धेरै ठाउँमा भनेको छु, म भ्रष्टाचार गर्दिन, कसैले गरेको सहन्न, बहुत क्लियर छ,’ प्रधानमन्त्री ओलीले भने, ‘भ्रष्टाचारको मामिलामा अनुहारतिर हेर्दिन, को पर्छ भन्ने कुरा, कहिले कहिले अलिकति लाग्न सक्छ, बढी निर्मम भयो भनेर, भ्रष्टाचारको सवालमा निर्मम नै हुने हो, कानूनको राजबाहेक अरु हेरिन्न ।’
देशलाई घाटा पार्ने काम जोकोहीबाट भएपनि कडा शक्ति प्रयोग गर्ने उनको भनाई थियो । ‘यो छ नि सेटि मिलाउने, ठेकेदारलाई अनुचित बल प्रयोग गरेर अनेकन गिरोहले दुःखदिने, काममा ब्यवधान खडा गर्ने, घुस र कमिशनबाट राज्यलाई घाटा पार्ने सवै कुराहरुनियन्त्रण गरिन्छ । सुशासन हाम्रो उदेश्य हो,’ प्रधानमन्त्री ओलीले भने ।
उनले भैरहवा अन्तराष्ट्रिय बिमानस्थल सञ्चालनमा सहयोग गर्न भारतीय प्रधानमन्त्री नरन्द्र मोदीसँग नै आग्रह गरिसकेको जानकारी दिए । भारतले भैरहवा बिमानस्थललाई रुट दिनुपर्छ, कन्जस्याई नगर्नोस भनेको छु भारत भ्रमणमा, अव भैरहवा बिमानस्थल चल्छ, ओलीले भने ।

प्रतिक्रिया दिनुहोस्