भ्रष्ट छविका कार्कीलाई प्रचण्ड सरकारले रेडियोको कार्यकारी निर्देशक बनाउनुको यस्तो छ रहस्य !


 ६ माघ । राजकिशोर यादव सञ्चारममन्त्री भएका बेला चार वर्ष अघि कार्यकारी निर्देशकमा नियुक्त भएका सुरेसकुमार कार्कीको समयावधी मंसिर १८ बाट सकिएको थियो ।

अहिले फेरि उनै कार्की नेकपा माओवादी केन्द्रको नेतृत्वमा सरकार भएका बेला रेडियो नेपालको कार्यकारी निर्देशकमा दोस्रो कार्यकालका लागि नियुक्त भएका छन् । बिहीवार बसेको मन्त्रीपरिषद् बैठकले उनलाई रेडियो नेपालको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।  कार्यकारी निर्देशक बन्न एक दर्जन बढीको दौडधुप थियो । तर, सबैलाई पछि पार्दै उनी नियुक्त भएका हुन् ।

सिरहा जिल्लामा हुँदा वकिल पेशा सम्हालेर बसेका कार्कीको मधेसी नेताहरु राजलाल यादव र वीपी यादवसँग राम्रो सम्बन्ध भएकै कारण उनीहरुकै भनसुनमा यादव मन्त्री भएका बेला रेडियोको कार्यकारी निर्देशक बन्ने अवसर प्राप्त गरेका थिए । रेडियोमा अनुभव शून्य भएका कार्कीले कार्यकारी निर्देशक पद हात पारेपछि चार वर्षमा रेडियो नेपाललाई नै धरासायी बनाएका थिए । चार वर्षे कार्यकाल सकिएपछि भ्रष्ट कार्की हट्ने भए भनेर खुशी मानिरहेका रेडियोका कर्मचारीहरु समेत अहिले कार्की फेरि कार्यकारी नियुक्त भएपछि खिन्न भएका छन् ।

पदका लागि जस्तो सुकै हर्कत गर्न बाँकी नराख्ने कार्कीले यो बीचमा माओवादी कोटाबाट सञ्चार मन्त्री बनेका सुरेन्द्र कार्की (राम कार्की)को परिवार भित्रको मान्छेका रुपमा परिचय गराउनसम्म भ्याएका थिए ।   आगामी चार वर्षका लागि कार्यकारी निर्देशक बन्नकै लागि राम कार्की मन्त्री भएपछि उनी दिनहुँ उनको चाकडीमा व्यस्त बनेका थिए ।

केही समय अघि रेडियो नेपालकै खर्चमा मन्त्री कार्कीलाई उनले मुगु लगेर रारा घुमाएका थिए । त्यति मात्र होइन दामनतिर लगेर एक रात राखेर दारुसमेत खुवाएका थिए । एक साँझ मन्त्री कार्की र उनका छोरीलाई समेत मकवानपुरको दामन लगेर दारुपानीसहित एक रात बास बसाएपछि पारिवारिक नातो अझ कसिलो भएको दाबी गर्ने कार्की कार्यकारी निर्देशन नियुक्त भएपछि रेडियोका कर्मचारीले समेत खिल्ली उडाउन थालेका छन् ।

मन्त्री कार्कीसँग मात्र होइन प्रधानमन्त्री प्रचण्डसँग समेत राम्रो सम्बन्ध भएको फुर्ति लगाउने सुरेस कार्कीले रेडियोका कर्मचारीलाई कांग्रेस सभापति शेरबहादुर देउवालेसमेत कार्यकर्तालाई जागिर लगाइदिन आफूलाई फोन गर्ने गरेको फुर्ति लगाउने गरेका थिए । आफ्नो पदावधी सकिने बेलामा १ सय ५० जना कर्मचारीलाई नियुक्ति दिएका कार्कीले करिब २ सय ५० जनालाई मनपरी काजमा खटाएका थिए ।

रेडियो नेपाललाई संवृद्ध बनाउने भन्दा पनि आफूलाई मात्र केन्द्रमा राख्ने कार्कीको त्यही हर्कतबाट दिक्क भएका रेडियोका कर्मचारी कार्की नै नियुक्त भएर आएपछि निरास भएका छन् ।

आफ्नो पदावधी सकिनु केही समय अघि मात्र रेडियोको २२ लाख खर्च गरेर अमेरिका सयर गरेका कार्कीले साउनदेखि मंसिर मसान्तासम्म २१ करोड बजेट झ्वाम पारेका थिए । कार्कीकै हर्कतका कारण पुस महिनाबाट रेडियोका कर्मचारीलाई तलब खान धौधौ परेको रेडियोमा चर्चा छ ।
आफ्नो चार वर्षे कार्यकाल थप्नका लागि माओवादीलाई खुशी बनाउन उनले खुमलटारमा रहेको रेडियो नेपालको  करिब ३ सय रोपनी जग्गा २ अर्बमा बेचेर रेडियोलाई आधुनिकीकरण गर्ने अनि माओवादीका एक सय बढी कर्मचारीलाई विज्ञापन खुलाएर स्थायी गर्नेसम्मको आस्वासन दिएका थिए । माओवादीकै पत्रकारहरुले समेत उनको त्यो हावादारी प्रस्तावलाई पत्याएका थिएनन् ।

तर, सिक्किमे पत्नीका पति मन्त्री कार्की भने सुरेससँगको मोजमस्तीले लठ्ठ भएपछि साच्चै हो भन्ने भ्रममा परेका थिए । मन्त्री पदलाई नै दाउमा राखेर भए पनि कार्कीलाई कार्यकारी निर्देशक बनाउन भूमिका खेल्ने राम कार्कीले आज नियुक्त भएका कार्यकारी निर्देशकसँग राम्रै रकम लिएको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्