मंगलबारदेखि केबुलकारबाट चन्द्रागिरी पुगिने, भदौ पहिलो साता औपचारिक उद्घाटन


२३ साउन । काठमाडौंको थानकोट वरपर पहिलाभन्दा मानिसहरुको चहलपहल बढेको छ । थानकोट प्रहरी चौकीबाट उकालो लाग्ने गाडीहरुको ताँती पनि बाक्लो देखिन थालेको छ । कारण, दुई वर्षअघि निर्माण सुरु गरिएको केबल कार सञ्चालनको अन्तिम चरणमा पुगेको छ । र, व्यवस्थापनले उच्चपदस्थदेखि सम्बन्धित अधिकारीहरुसम्मलाई बोलाएर अवलोकन गराइरहेको छ ।

FullSizeRender_3

शनिवार उक्त केबलकार हेर्न पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल पुगेका थिए । साथै स्वामी कमलनयनाचार्य पनि त्यहीँ थिए । उनीहरुले केबुल कारबाट यात्रा गरेर करिब तीन घन्टा त्यहाँ बिताएका थिए । पृथ्वीनारायण शाहले काठमाडौँ उपत्यकामा आक्रमण गर्नुअघि काठमाडौँ अवलोकन गरेर योजना बनाएको त्यो डाँडामा अब दैनिक हजारौँ मानिसहरुको भीड लाग्ने भएको छ ।

भदौको पहिलो सातादेखि विधिवत रुपमा केबल कारबाट चन्द्रागिरीको टुप्पोमा पुग्न पाइनेछ । अनौपचारिक सुरुआत भने आउँदो मंगलबार (साउन २५) बाटै हुनेछ । ‘सोमबार पूजाआजा गरेर मंगलबारदेखि सफ्ट लन्च गर्ने योजना बनाएका छौँ’, पाँचजना सञ्चालकमध्येका एक अम्बिकाप्रसाद पौडेलले पहिलो न्युजसँग भने, ‘विधिवत् उद्घाटन चाहिँ भदौको पहिलो साताबाट गर्छौं ।’

एक दिनमा १० हजारलाई सेवा

चन्द्रागिरी हिल्स प्रालि नामक कम्पनीले निर्माण गरेको उक्त केबलको यात्रा १० मिनेटको हुनेछ । थानकोट पार्कभन्दा पछिल्तिरको भित्तामा स्टेशन रहेको केबल कारका ३८ वटा डिब्बा छन् । एउटामा ८ जना बस्न मिल्ने उक्त सेवाबाट एक दिनमा १० हजार मानिसलाई सेवा दिन सक्ने गरी व्यवस्था गरिएको कम्पनीका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

कस्तो छ संरचना ?

अस्ट्रियाको डोपलमेयर कम्पनीको उत्पादन र प्रविधिमा आधारित उक्त केबलकार सुविधाजनक छ । एक डब्बामा आठ जना सजिलै बस्न सकिन्छ । केबल कुदाउनका लागि ११ वटा टावर निर्माण गरिएको छ । उकालो भएका कारण यात्रा गर्दा रोमाञ्चक देखिन्छ ।

विद्युत्बाट चल्ने भएका कारण कुनै पनि बेला विद्युत् अभाव नहोस् भन्ने कुरा सुनिश्चितता त हुने नै भयो । त्यसका लागि स्वचालित जेनेरेटहरुको व्यवस्था गरिएको अध्यक्ष ढकालले बताए ।

IMG_4836

खर्च कति ?

सुरुमा कम्पनीले ३ अर्ब २५ करोडको लगानी प्रस्ताव तयार पारेको थियो । तर, यसबीचमा भूकम्प र नाकाबन्दी जस्ता अनेपेक्षित घटना भएका कारण खर्च बढेको छ ।

ग्लोबल आइएमई ग्रुपका चन्द्रप्रसाद ढकाल अध्यक्ष रहेको उक्त कम्पनीमा अम्बिकाप्रसाद पौडेल, कल्याण गुरुंग (भाटभेटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुंगका छोरा), गैरआवासी नेपाली नवराज नेपाल र हेमराज ढकाल सञ्चालक छन् ।

१० मिनेटको यात्रा गर्नका लागि यात्रुले लगभग सात सय रुपियाँ तिर्नुपर्ने छ । तर, यसको अन्तिम टुंगो भने लागिसकेको छैन ।

चन्द्रागिरी डाँडामा आकर्षक मन्दिर

IMG_4831

हिन्दुहरुको बाहुल्य रहेका कारण त्यस मनोविज्ञानलाई ध्यानमा राखेर कम्पनीले चन्द्रागिरीको डाँडामा आकर्षक मन्दिर निर्माण गरेको छ । भालेश्वरको उक्त मन्दिरको प्राण प्रतिष्ठापछि विधिवत् खुल्ला गर्ने जनाइएको छ । दर्शनार्थीहरुका लागि आवश्यक स्थानको पनि व्यवस्था मिलाइएको छ ।

डाँडामा रेस्टुरेन्ट

IMG_4862

पूर्वतर्फ काठमाडौँ उपत्यका र पश्चिमतर्फ मकवापुर देखिने चन्द्रागिरी डाँडामा रेस्टुरेन्ट निर्माण गरिएको छ । केबुलकार चढेर डाँडामा पुग्नेहरुको सुविधाका लागि आधुनिक रेस्टुरेन्ट निर्माण गरिएको सञ्चालक पौडेलले जानकारी दिए । वरपर हेर्नका लागि भ्यु टावर पनि बनाइएको छ ।
केबल कारको स्टेसन रहेको ठाउँमै आकर्षक रेस्टुरेन्ट छ ।

सभाहल

चन्द्रागिरी डाँडामा फोर डी थिएटरका साथै सभाहल पनि निर्माण गरिएको छ । कुनै कार्यक्रम गर्न चाहनेहरुका लागि सहज होस् भनेर सुविधा सम्पन्न उक्त हल निर्माण गरिएको हो ।

पाँच तारे होटल बन्दै

चन्द्रागिरी हिल्स कम्पनीले नै डाँडाको पूर्वपट्टि पाँच तारे होटल बनाइरहेको छ । दुर्ई वर्षभित्र बनिसक्ने उक्त होटलले त्यस क्षेत्रको पर्यटन प्रबद्र्धनमा परिवर्तन ल्याउने अध्यक्ष ढकालले बताए ।

सात सय रोपनीमा सेवा

कम्पनीले केबुल कार निर्माणका लागि सरकारबाट ३६ हेक्टर अर्थात् करिब सात सय रोपनी जमिन ४० बर्षका लागि लिजमा लिएको छ । अर्को ४० वर्षका लागि स्वतः नवीकरण हुने सम्झौता पनि सरकारसँग भएको छ ।

खर्च गर्न पनि समस्या

काठमाडौँबासीलाई मनोरञ्जन दिन र त्यसबाट आम्दानी गर्न दुई वर्षअघि सुरु भएको उक्त योजना पूरा हुँदासम्म साढे तीन अर्ब जति रकम खर्च भइसकेको छ । सुरुका दिनदेखि उक्त परियोजना अघि बढाउन कम्ती समस्या झेल्नुपरेन । ‘नेपालमा लगानीको राम्रो सम्भावना छ, लगानी गर्न इच्छुक व्यक्ति र कम्पनी पनि छन्’, सञ्चालक पौडेल भन्छन्, ‘तर त्यसका लागि राम्रो वातावरण चाहिन्छ, जसको सर्वथा अभाव छ । हामीले कति कष्ट भोग्यौँ भन्ने थाहा पाउने हो भने सायद कोही लगानी गर्न अग्रसर होला ।’

हालसम्म नेपालमा चितवन कोईले सञ्चालन गरेको एउटा मात्र केबुल कार (मनकामना) थियो ।

प्रतिक्रिया दिनुहोस्