मंसिरमा निर्वाचन गर्न आयोग तयार छः प्रमुख निर्वाचन आयुक्त


१३ असार । प्रधानमन्त्री केपी शर्मा ओली र कार्यवाहक प्रमुख निर्वाचन आयुक्त अयाधीप्रसाद यादबबीच छलफल भएको छ । प्रधानमन्त्री ओलीसहित गृहमन्त्री शक्ति बस्नेत, एमाले महासचिव ईश्वर पोख्रेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ, एमालेका प्रमुख सचेतक भानुभक्त ढकाल, कानुन मन्त्री अग्नी खरेलसहितको टोली सोमबार निर्वाचन आयोग पुगेको थियो ।

‘कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरुसँग निर्वाचनका लागि आवश्यक पर्ने कानुन र सम्शोधन गर्नुपर्ने विषय, निर्वाचनको तयारीलगायतका बारेमा कुराकानी भयो,’ निर्वाचन आयोगका सहसचिव बीरबहादुर राईले भने, ‘उहाँहरुबीच करिब एक घण्टा कुराकानी भयो ।’

छलफलका क्रममा पमुख निर्वाचन आयुक्त यादबले सरकारले स्थानीय निकायको निर्वाचनका लागि प्रक्रिया अघि बढाएको अवस्थामा आयोग निर्वाचनका लागि तयारी अवस्थामा रहेको जानकारी गराएका थिए ।

अन्य निर्वाचनका सन्दर्भमा भने केही कानुनी जटिलताहरु रहेको भन्दै त्यसलाई हल गरे अघि बढ्नु पर्ने सुझाव यादबले दिएका थिए । ‘प्रधानमन्त्री ज्युले स्थानीय निकायको निर्वाचन मंसिरमै हुने भएकाले त्यसको तयारीमा जुट्न आयोग पदाधिकारीलाई आग्रह गर्नुभयो,’ प्रधानमन्त्रीका सञ्चारविज्ञ चेतन अधिकारीले भने ।

प्रतिक्रिया दिनुहोस्