मकैको घोगामा दाना नलागेपछि किसानलाई १० करोड घाटा


वीरगञ्ज, १६ जेठ । बाराका किसानले लगाएको हिउँदे मकैको घोगामा दाना नलाग्दा १० करोड सात लाख ३८ हजार बराबरको क्षति पुगेको छ ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार कात्तिकमा लगाएको हिउँदे मकै शीतलहरका कारण परागशेचन हुन नसक्दा यसवर्ष करीब ५० प्रतिशतले मकै उत्पादनमा कमी आएको छ ।
जिल्लामा यसवर्ष १३ हजार ५९५ हेक्टरमा हिउँदे मकैखेती गरेकामा ५३ हजार २० दशमलव ५ मेट्रिक टन उत्पादन भएको वरिष्ठ कृषि विकास अधिकृत शिवरत्न साहले जानकारी दिए। किसानले गतवर्ष १३ हजार ५९५ हेक्टरमा ८४ हजार २८९ मेट्रिक टन मकै उत्पादन भएको थियो । यसवर्ष गतवर्षको तुलनामा ३१ हजार २६९ मेट्रिक टन कम मकै उत्पादन भएको छ ।
मकैको घोगामा दाना नलाग्दा जिल्लामा १२ हजारभन्दा बढी किसान मारमा परेका छन् । क्षतिपूर्ति उपलब्ध गराउन केन्द्रमा पत्राचार गरिएको कार्यालयका सूचना अधिकारी राजवंशीप्रसाद चौरसियाले बताए ।

प्रतिक्रिया दिनुहोस्