मञ्चबाटै बामदेव गौतम हराए भन्दै प्रचण्डले हल्लीखल्ली गरेपछि…


११ पुस । कुनै समय नेकपा (एमाले) उपाध्यक्ष बामदेव गौतम र माओवादी अध्यक्ष प्रचण्डबीच निकै निकट सम्बन्ध रहेको चर्चा चल्ने गथ्र्यो । तर, सोमबार राजधानीमा कार्ल माक्र्स द्वीशतवार्षिकी राष्ट्रिय समारोहको उद्घाटन कार्यक्रमा भने ती दुई नेताबीच निकै राम्रो दोहोरी चल्यो ।

प्रमुख अतिथिका रुपमा निमन्त्रणा गरिएका प्रधानमन्त्री प्रचण्ड आफू निकै हतारमा रहेको भन्दै पहिला बोल्ने व्यवस्था मिलाउन आयोजकसँग आग्रह गर्दै थिए । तर, आयोजकले केही बक्ताहरुलाई बोल्न दिएपछि मात्र प्रचण्डलाई बोल्न आग्रह गरे । आयोजकको आग्रहपछि उनी केही बेर कार्यक्रमस्थलमा बस्न राजी भए । त्यसबेला एमाले उपाध्यक्ष बामदेव गौतम बोलिरहेका थिए । प्रचण्डकै आग्रहमा गौतमपछि बोल्ने पालो एमाले वरिष्ठ नेता माधव कुमार नेपालको  राखियो ।

गज्जब के भयो भने गौतमले करीब आधा घण्टा आफ्नो मन्तव्य राखे । मन्तव्यका क्रममा गौतमले पटक–पटक मञ्चमा बसेका प्रचण्डतिर फर्किएर शसस्त्र युद्धबाट सत्ता कब्जा गर्ने योजना विश्वका कुनै पनि देशमा सफल नभएको भन्दै नेपालमा पनि त्यस्तै भएको दाबी गरे । ‘नेपालमा पनि शसस्त्रयुद्धबाट सत्ता कब्जा गर्ने कुरा असफल भएको छ,’ गौतमले भने, ‘सत्ताकब्जा विचार र संगठनले गर्ने हो ।’ उनले वर्गशत्रु खतम गर्ने कुरा पनि असफल भएको टिप्पणी गरे ।

त्यतिमात्र होइन गौतमले साम्यवाद र समाजवादको बलियो हतियार जनताको बहुदलीय जनवाद नै भएको समेत दाबी गरे ।  निकै लामो समय भाषण गरेका गौतमलाई उद्घोषकले नै मन्तव्य छोट्याउन चिट काट्नु परेको थियो ।

बामदेवजी खोई ?

गौतम आफ्नो मन्तव्य सकिएपछि एकछिन मञ्चमा बसे । त्यसपछि ट्वाइलेटतिर निस्किएका गौतम फर्किएनन् । बरु कार्यक्रममा गज्जब के भयो भने गौतमका भनाई ध्यान दिएर सुनेका प्रचण्ड जब बोल्न थाले अनि हलको माहोल नै अर्कै भयो ।

उनले सुरु मै कार्यक्रममा ढिला आएको भन्दै माफी माग्दा सबै हाँसेका थिए । त्यसपछि फेरि प्रचण्डले आफू हतारमा भए पनि वरिष्ठ नेता नेपालको मन्तव्यपछि बोल्ने तयारीमा रहे पनि बामदेव गौतमको लामो भाषणले त्यो पूरा नभएको भन्दै गौतमलाई कटाक्ष गरे । त्यति मात्र होइन मन्तव्यका क्रममा प्रचण्डले पटक–पटक ‘यो कुरा एमालेलाई होइन बामदेव गौतमलाई सुनाउन चाहन्छु’ भन्दै मञ्चतिर फर्किए ।

तर, मञ्चमा गौतम थिएनन् । उनले मञ्चमा गौतमलाई नदेखेपछि ‘म गौतमजीलाई नै सुनाउन चाहन्थे । उहाँको खाली कुर्सीलाई सुनाउछु’ भन्दै कटाक्ष गरिरहे । प्रचण्डको गौतमप्रति सबै भन्दा बढी गुनासो शसस्त्रयुद्ध असफल भएको भन्ने भनाइप्रति थियो ।

प्रतिक्रिया दिनुहोस्