मदनको सपना पूरा गर्न एमाले र माओवादीबीच एकता जरुरीः प्रचण्ड


१४ असार । नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले ०५० जेठ ३ गते मदन भण्डारीको निधन नभएको भए आफू पनि अहिले एमालेमै रहेको हुन सक्ने बताएका छन् ।

मदन भण्डारीको ६४ औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउन्डेशनले राजधानीमा मंगलबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन् । ‘जेठ ११ मा ललितपुरका एक वुद्धिजीवीको संयोजनमा मदन कमरेड र मेरोबीचमा नेपालको कम्युनिष्ट आन्दोलनलाई कसरी अघि बढाउने विषयमा छलफल गर्ने कुरा भएको थियो,’ प्रचण्डले कार्यक्रममा भने, ‘त्यसअनुसार म केही एजेण्डा बनाउँदै थिएँ सायद उहाँले पनि केही तयारी गर्नुभएको थियो होला । म ३ गते चितवनमा बिस्तारित बैठकको तयारीमा थिए, त्यसै दिन उहाँको रहस्यमय मृत्यु भयो ।’

प्रचण्डले त्यो रहस्यमय मृत्युलाई अहिले पनि सम्झिरहेको स्मरण गराए । ‘म अहिले पनि सम्झिरहेको छु, उहाँले एउटा धार र मैले अर्को धारको नेतृत्व गरिरहेका थियौं,’ उनले भने, ‘अहिले फर्किएर हेर्दा लाग्छ सायद ११ गते भेट हुन पाएको भए उहाँले मलाई नयाँ ढंगले सोच्ने तहसम्म पुर्‍याउनुहुन्थ्यो कि ?’

उनले मदन र आफ्नो विचार घिस्रेर होइन, क्रमभंगतासहित अघि बढ्नुपर्छ भन्नेमा समानता रहेकाले दुबै एक ठाउँमा हुन सक्ने संकेत गरे । ‘हामी यतिबेला नयाँ ध्रुबिकरण गर्न खोजिरहेका छौं,’ प्रचण्डले भने, ‘एमाले जनताको बहुदलीय जनवाद हुँदै मुलुकको आर्थिक संवृद्धि र सामाजिक–आर्थिक रुपान्तरणको कुरा गरिरहेको छ । हामी पनि जयुद्ध, शान्ति प्रक्रियाहुँदै जनताको आर्थिक संवृद्धि भनिरहेकाले दुवै पार्टी एउटै बिन्दूतिर अघि बढिरहेका छौं ।’

उनले मदनको सपना पूरा गर्न माओवादी र एमालेबीच नयाँ मेलको सम्भावना देखा परेको पनि खुलासा गरे । ‘तर फेरि एमाले र माओवादीको नेतृत्वले क्रमभंगता गर्ने आँट गर्छ कि गर्दैन ? प्रश्न खडा छ,’ उनले भने ।

प्रतिक्रिया दिनुहोस्