मधेसका जनताले विकास, रोजगारी र सुशासन चाहेका छन्ः नेता नेपाल


३ मंसिर । नेकपा (एमाले) का वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले तराई–मधेसमा एमाले विरुद्ध मधेसी मोर्चाका नेताहरु लागिपरे पनि उनीहरु सफल हुन नसक्ने बताएका छन् । नेता नेपालले बताएका छन्, ‘मधेसी मोर्चाले कार्यक्रममा अवरोध गर्न खोजे पनि कहीँ पनि कार्यक्रम रोकिएन । पूर्ण रुपमा सफल भएको छ । मोर्चाको यस्ता हर्कतले यस्सै घोच्ने मात्रै काम गरेको छ ।’

केही दिनअघि मात्रै जनकपुर, लहान, उदयपुरका गाउँबस्तीका साथै सप्तरी, धनुषा, महोत्तरी, सर्लाही, बारा र पर्साका जनतासँग भेटघाट गरेर आफू फर्किएको बताउँदै नेता नेपालले भनेका छन्, ‘जनस्तरमा समस्या छैनन् । केही नेताले अनावश्यक रुपमा चुनावको विषय बनाउन खोजेको हो कि ? यो देशलाई बिगार्न खोजिएको हो कि ? बुझ्न सकिएको छैन ।’ नेता नेपालले शुक्रबारको नागरिक दैनिकलाई अन्तर्वार्ता दिँदै भनेका छन्, ‘मधेसका जनता मधेसकेन्द्रित दलबाट टाढिदैछन् र जनतामा वितृष्णा हुँदै जानेछ । राजविराज, लहान, जनकपुर, वीरगञ्जका व्यापारीहरु चिन्तित छन् अब बस्न सकिन्न भन्न थालेका छन् । मलंगवामा व्यापारी छँदै छैन भने पनि हुन्छ । गौरको पनि अवस्था त्यस्तो हो । मधेस व्यापार र आर्थिक गतिविधि बिना उजाड हुने भयो ।’

वर्तमानमा देखिएको समस्या मधेसी जनताको नभएको बताउँदै नेता नेपालले मधेसी दलका भनिएका नेताहरुले उठाएका विषयका कारण समस्या देखिएको बताएका छन् । नेता नेपालले मधेसी जनतामा संविधान संशोधनप्रति खासै चासो नभएको पनि बताएका छन्, ‘संविधान संशोधनको विषयमा खासै चासो छैन । मुख्य चासो भनेको विकास, रोजगारी र सुशासनमा छ । भ्रष्टाचार उन्मुलन चाहेका छन् । स्थानीय निकायको चाँडोभन्दा चाँडो चुनाव गरेर जनप्रतिनिधिको चाँडो व्यवस्था होस् भन्ने चाहेका छन् ।’

शान्ति सम्झौता भएको दस वर्ष पुग्नै लागेको सन्दर्भलाई कोट्याउँदै नेता नेपालले भनेका छन्, ‘माओवादीलाई शान्ति प्रक्रियामा ल्याउन भूमिका खेल्ने दल एमाले हो । गिरिजाबाबुलाई वार्ता गर्न जाउँ भनेर घच्घचाउन मात्रै होइन, फोन गरेर बोलाउने मानिस मै हुँ । प्रचण्डजीलाई रोल्पाबाट काठमाडौं ल्याउन र उहाँ नआउँदा फेरि मानिस पठाउने पनि मै हुँ ।’ नेता नेपालले भनेका छन्, ‘पटना, सिलगुढी, लखनउ वा दिल्लीमा विभिन्न चरणमा वार्तापछि माओवादी र सात दलबीच १२ बुँदे सम्झौता भएको हो । कहिले माओवादीका व्यवस्थापनमा वार्ता हुन्थ्यो भने कहिले हामीले गरेका हौं । हाम्रो कार्यकर्ता मार्दामार्दै पनि एमालेले लचिलो भएर सहमतिका लागि प्रयास ग¥यो ।’

प्रतिक्रिया दिनुहोस्