मधेसमा एमालेको लहर, कांग्रेस, फोरम र माओवादी परित्याग गरी पाँच सय बढी एमाले प्रवेश


२९ भदौ । यही असोज २ गते प्रदेश नम्बर–२ को निर्वाचन हुँदैछ । निर्वाचनको सम्मुखमा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गर्नेको लहर नै चलेको छ । निर्वाचनलाई केन्द्रित गरेर एमालेले सिरहाको अर्नामा गाउपालिकामा आयोजना गरेको बृहत आमसभामा सयौँको सङ्ख्यामा विभिन्न पार्टी परित्याग गरी एमाले प्रवेश गरेका हुन् ।

एमालेका सचिव प्रदीप ज्ञवालीको प्रमुख आथित्यतामा सम्पन्न सो कार्यक्रममा अर्नामा गाउपालिका अर्नामाका नेपाली कांग्रेसका नेता हरुणी कामकीको नेतृत्वमा १ सय २५ जना र सोही गाउपालिका कृष्णपुरका संघीय समाजवादी फोरमका नेता एवं जिल्ला युवा संघका सचिव शिव शंकर महतो सहित १ सय ५० जनाले एमाले प्रवेश गरेको सिरहामै रहेका युवा संघका सचिव माधव बास्तोलाले जानकारी दिए । सोही गाउँपालिका वडा नं ३ का एमाओवादीका नेता झगरु महरा सहित ५० जनाले पनि एमाले प्रवेश गरेको उनले जानकारी दिए ।

नव प्रवेशीहरुलाई प्रमुख अतिथि ज्ञवाली र पोलिटव्युरो सदस्य लालवावु पण्डितले अविर लगाएर पार्टीमा स्वागत गरे । कार्यक्रममा बोल्दै सचिव ज्ञवालीले नेकपा एमाले मधेसमै जन्मेको पार्टी भएको भन्दै यो पटक जसरी पनि एमालेले प्रदेश नम्बर २ मा विजयी हात पार्ने दाबी गरे ।

‘प्रजातन्त्रप्राप्तिपछि अरु पार्टीले २४ वर्ष र एमालेले करिव ४ वर्ष मात्र सरकार सञ्चालन गर्यो,’ उनले भने, ‘सरकार सञ्चालन गरेको वेला मधेस र मधेसी जनताको पक्षमा सवै भन्दा वढी काम एमालेले नै गरेको छ । सवै भन्दा वढी सरकार सञ्चालन गरेको कांग्रेसल तराईमा रहेका नदीनाला भारतलाई वेच्ने, तराईको गरिबीसँग खेल्ने, विकास निर्माणमा आएको पैसा भष्टाचार गर्ने र भष्टाचारलाई संस्थागत गर्ने पार्टीका रुपमा चर्चित भयो ।’

ज्ञवालीले मधेशवादी दल मधेशको समस्या देखाएर वार्गेनिङ पार्टी मात्र भएको आरोप लगाए । ‘मधेसवादी दल हुँ भन्नेहरु वास्तविक समस्याको वारेमा कुरा र काम गर्न चाहदैनन्,’ उनले भने, ‘मधेसी नेताका छोरा छोरी विदेश र काठमाडौँका महंगो स्कुलमा पढेका छन् । तर, गरिबका छोरा छोरीलाई दुर्दशा र अशिक्षामा धकेल्ने र यसैमा राजनीति गर्ने काम उनीहरुले गरिरहेका छन् ।’ ज्ञवालीले यसको अन्त्यका लागि जनताले एमालेलाई विजय गराउने पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्