मधेसमा एमालेलाई एक्ल्याउने काँग्रेस–राजपाको दाउपेच फेल खाँदै


१४ जेठ । खासै सफलता नपाए पनि स्थानीय तहको पहिलो चरणको निर्वाचनमा मधेस केन्द्रित दलहरु संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले भाग लियो । अरु मधेसी दलहरु चुनावबाट पन्छिँदै गएका बेला मधेसका साथै पहाडमा समेत सीमित जनाधार भएको संघीय समाजवादी र गच्छदार नेतृत्वको फोरमले भाग लिएर सबै मधेसी दलहरु ‘चुनाव विरोधी छैनन्’ भन्ने सन्देश पनि दियो ।

तर, आफूलाई मधेसको प्रमुख शक्ति ठान्दै आएको राष्ट्रिय जनता पार्टीले भने ‘चुनाव विरोधी’ छवि मेट्न सकेनन् । स्थानीय तहको पहिलो चरणको निर्वाचनमा त सो दलले भाग लिएन नै, दोस्रो चरणको निर्वाचनलाई बिथोल्ने गरी आन्दोलनको कार्यक्रम घोषणा गरेको छ । तराई मधेसमा दोस्रो चरणको निर्वाचनको माहोल बन्दै जाँदा राजपाले भने उम्मेदवारहरुले मनोनयन गर्ने दिन बन्द घोषणा गरेर चुनाव बिथोल्ने रणनीति अपनाएको छ ।

निर्वाचन बिथोल्ने गरी राजपा भड्किएपछि प्रमुख राजनीतिक दलहरुले भने सो दललाई चुनावमा भाग लिन आग्रह गरिरहेका छन् । चुनावअघि नै संविधान संशोधन गर्नुपर्ने सो दलको माग तत्काल पूरा नहुने भएपछि प्रमुख दलहरु हदैसम्म लचक भएर उनीहरुलाई निर्वाचनमा ल्याउने कसरतमा छन् । तर, सर्वोच्च अदालतले चुनावको बीचमा स्थानीय तहको संख्या थप गर्ने सरकारको निर्णय कार्यान्वयन नगर्न आदेश दिएपछि भने राजपा झनै भड्किन पुगेको छ ।

चुनाव छाडेर आन्दोलनमा जाने घोषणा राजपाले गरेपछि सबैभन्दा बढी नेपाली काँग्रेस रन्थनिन पुगेको छ । पहिलो चरणको निर्वाचनमा दोस्रो स्थानमा खुम्चिन बाध्य काँग्रेसले दोस्रो चरणको निर्वाचनमा भने मधेसमा राजपासँग तालमेल गरेर जाने योजना बनाइरहेको थियो । राजपासँग चुनावी तालमेल गरेर पहिलो चरणको निर्वाचनमा गुमेको साख दोस्रो चरणको निर्वाचनमा फर्काउन काँग्रेसका नेताहरु उद्यत देखिएका थिए । त्यही कारण पछिल्लो समय सत्तारोहणको दिन गनेर बसिरहेका काँग्रेस सभापति शेरबहादुर देउवा र राजपाका नेताहरुबीच बाक्लो छलफल चलेको थियो ।

मधेसमा एमालेलाई एक्लाउने विषयमा काँग्रेस र राजपाबीच भित्री साँठगाँठ बनेकोमा कुनै सन्देह देखिँदैन । खासगरी, २ नम्बर प्रदेशमा तह बढाएर चुनावी तालमेल गर्ने र त्यसमा एकलौटी पार्ने काँग्रेस र राजपाको दाउपेच रहेको कुरा पछिल्लो समय यी दुई दलका नेताबीच पटकपटक भएका छलफलले पनि प्रष्टै पारेको छ । तर, निर्वाचनको बीचमा स्थानीय तह बढाउन नपाइने गरी अदालतले फैसला गरेपछि भने आन्दोलनको बाटो रोजेको राजपा र काँग्रेसबीचको योजना पूरा नहुने देखिएको छ ।

राजपाले आगामी जेठ १९ गते मनोनयन गर्ने दिन बन्द आव्हान गरेको छ । तर, मनोनयनका दिन एमाले उम्मेदवारलाई छेकेर काँग्रेसलगायत अरु दलका उम्मेदवारलाई भने सहज बनाइदिने काम राजपाबाट हुने आशंका पनि गर्न थालिएको छ । एमालेले भने राजपाको अवरोधलाई चिर्दै मधेसमा सक्रियतापूर्वक चुनावमा भाग लिने तयारी गरिरहेको छ । यद्यपि, संघीय समाजवादी फोरम र लोकतान्त्रिक फोरमले भने राजपाले बहिस्कार गरे पनि दोस्रो चरणको निर्वाचनमा पनि भाग लिने बताइसकेका छन् र चुनावको तयारीमा जुटिसकेको छ ।

प्रतिक्रिया दिनुहोस्