मधेसमूलबाट पहिलो पटक प्रमुख निर्वाचन आयुक्त


२७ असार । पहिलो पटक मधेसमूलबाट प्रमुख निर्वाचन आयुक्त बनेका डा अयोधीप्रसाद यादवले आफ्नो पहिलो काम संविधान कार्यान्वयनमा सहयोग पु¥याउनु हुने बताएका छन् ।

१३औँ प्रमुख निर्वाचन आयुक्तका रुपमा पदभार सम्हाल्दै यादवले यस्तो बताएका हुन् । अर्थशास्त्रमा ‘विद्यावारिधि’ गरेका यादवले संविधानको प्रावधान अनुसार स्थानीय, सङ्घ/प्रदेश र संसद्को निर्वाचन गराउन आयोगले कार्ययोजना तयार गरी अगाडि बढिसकेको पनि जानकारी दिए । ‘नेपाली जनताले जुनसुकै निर्वाचन सम्पन्न गराउन आयोगप्रति जुन अगाध विश्वास राखेका छन्, त्यो छविलाई म गिर्न दिन्न, झन् उँचो बनाउनेछु,’ उनले भने ।

प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाल्दा कस्तो अनुभव गर्दै हुनुहुन्छ ? भन्ने जिज्ञासामा डा यादवले भने– ‘आयोग र यहाँ कार्यरत कर्मचारीसँग जुनसुकै निर्वाचन गराउन सक्ने गहिरो अनुभव छ, म यो अनुभवलाई लिँदै आयोगको साख बढाउन लाग्नेछु ।’

यादव अघि १२ जनाले प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी सम्हाली सकेका छन् । विसं २००८ कात्तिक २६ गते २०१६ सम्म सुवर्णशम्शेर जवराले पहिलो निर्वाचन कमिसनरका रुपमा आयोगलाई नेतृत्व प्रदान गरेका थिए ।

यसपछि क्रमशः सुरेन्द्रबहादुर बस्नेत, पूर्णप्रसाद ब्राह्मण, विष्णुमणि आचार्य, सुन्दरप्रसाद शाह, शेरबहादुर शाही, सूर्यप्रसाद श्रेष्ठ, विष्णुप्रताप शाह, अच्यूतरमण राजभण्डारी, केशवराज राजभण्डारी, भोजराज पोखरेल र नीलकण्ठ उप्रेतीले प्रमुख निर्वाचन आयुक्त भए । तस्वीरः रासस

प्रतिक्रिया दिनुहोस्