मधेसमै पुगेर महेश बस्नेतले भने– ‘मधेस आन्दोलन राष्ट्रविरोधी, भारतले सपना नदेखे हुन्छ’


६ असार । युवा संघका पूर्वअध्यक्ष एवं पूर्वमन्त्री महेश बस्नेतले तराई–मधेसको आन्दोलन तुहिएको दावी गरेका छन् । युवा संघ नेपालले सञ्चालन गरेको ‘तराईमा बजेट बहस’ कार्यक्रममा सोमबार महोत्तरीको बर्दिबास पुगेका बस्नेतले भने– ‘भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले सुत्ने बेला एकपटक हाम्रा प्रधानमन्त्री केपी ओलीलाई सम्झिने अवस्था आएको छ ।’

‘प्रधानमन्त्री केपी शर्मा ओलीले चलाएको राष्ट्रियताको आन्दोलनका कारण तराई–मधेसको राष्ट्रविरोधी आन्दोलन तहिएको छ,’ बस्नेतले भने, ‘अब भारतले नेपाल आफ्नो रिमोट कन्ट्रोलबाट चल्छ भन्ने सपना नदेखे हुन्छ ।’ बस्नेतले केपी ओली दक्षिण एसियाकै लोकप्रिय नेता भएको पनि दावी गरे ।

पूर्वमन्त्री बस्नेतले भारतसँग भएको व्यापार घाटाको अन्त्य गर्न जरुरी रहेको पनि बताए । त्यसका लागि भारत निर्भर अर्थतन्त्रमा परिवर्तन गर्नुपर्ने उनको सुझाव थियो । ‘विद्युत् उपकरण प्रयोग, विद्युत् रेल सञ्चालन गर्ने, एक घर एक रोजगार अभियान सञ्चालन गर्ने जस्ता सकारात्मक कुरा बजेटमा छन्’, उनले भने, ‘शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने र युवा परिषद्को स्थापना सकारात्मक कुरा हुन् ।’ उनले संविधान र बजेटको कार्यान्वयनमा युवा परिचालन गर्नुपर्नेमा जोड दिए ।

mahesh2

पूर्व उद्योगमन्त्री बस्नेतले सम्बोधनका क्रममा कांग्रेसको विरोध गरे । ‘आर्थिक उदारीकरणका नाममा कांग्रेसले सम्पूर्ण उद्योग बन्द गराएको छ,’ उनले भने, ‘कांग्रेसकै कारणा देशमा परनिर्भरता बढेको हो ।’ उनले २६ वर्षदेखि अवरुद्ध हुलाकी राजमार्ग छिट्टै बन्ने पनि दाबी गरे ।

बस्नेतले स्थानीय निकायको निर्वाचन मंसिरमै हुने ठोकुवा गरे । ‘मंसिरमा स्थानीय निकायको निर्वाचन हुन्छ,’ उनले भने, ‘निर्वाचनपछि एमाले पहिलो शक्ति बन्छ ।’
कार्यक्रममा संघका उपाध्यक्ष रमेशकुमार पौडेल, सचिवहरु पर्शुराम बस्नेत , बचनबहादुर सिंह, प्रवक्ता प्रभात विक्रम कटुवाललगायतले बोलेका थिए ।

प्रतिक्रिया दिनुहोस्