मधेसवादी दलको चेतावनीपछि प्रचण्डले भने– ‘संविधान संशोधनका लागि छठसम्म पर्खनुहोस्’


३ कात्तिक  । नेकपा माओवादी केन्द्रका संसदीय दलका नेता समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेसवादी दललाई अलमल्याउन नयाँ सुत्र सार्वजनिक गरेका छन । प्रचण्ड नेतृत्वको सरकारलाई समर्थन गरेका केही मधेस केन्द्रित दलले छठसम्म पनि सरकारले संविधान संशोधन प्रक्रिया अघि नबढाए समर्थन फिर्ता लिने चेतावनी दिइरहेका बेला उनले नयाँ सुत्र सार्वजनिक गरेका हुन् ।

प्रचण्डले मधेसवादी दलको समर्थन कायमै राख्न छठ लगत्तै संविधान संशोधन प्रक्रिया अघि बढाउने तयारी भइरहेको बताएका छन् । उनले माओवादी केन्द्रको संसदीय दलको बैठकमा बोल्दै संविधान संशोधनबारे प्रमुख विपक्षी दल नेकपा (एमाले) सहित अन्य दलसँग पनि सकारात्मक छलफल भइरहेको बताएका हुन् ।

मंगलबार सरकारमा सहभागी दल नेपाली कांग्रेसका मधेसी सांसदले समेत संविधान संशोधन प्रक्रिया अघि नबढाए देश टुक्रिने अभिव्यक्ति दिएपछि प्रचण्डले यस्तो सुत्र सार्वजनिक गरेका हुन् । उनले बैठकमा संविधान संशोधन गरेर आगामी चैतमा स्थानीय निकायको चुनाव गराउने समेत बताएका थिए ।

प्रचण्डले सीमांकन, नागरिकता लगायतका विषयमा संविधान संशोधनको गृहकार्य भइरहेको बताएको बैठकमा सहभागी नेताहरुले जानकारी दिए  ।  बैठकमा प्रचण्डले गोवा भ्रमण, ब्रिक्स–बिमस्टेक आउटरिच सम्मेलनका सन्दर्भमा भएको भ्रमण उपलब्धीपूर्ण रहेको पनि बताएका थिए । तस्बिरः प्रधानमन्त्रीको निजी सचिवालय

प्रतिक्रिया दिनुहोस्