मधेसी दल दोस्रो चरणको निर्वाचनमा आउनेमा अझै आशंका


१८ जेठ । असन्तुष्ट राष्ट्रिय जनता पार्टीलाई स्थानीय तहको निर्वाचनमा सामेल गराउन सरकारले दोस्रो चरणको निर्वाचन पटकपटक सारेर असार १४ गते पुर्याए पनि सो पार्टीले निर्वाचनमा भाग लिने कुरामा अझै आशंका देखिएको छ । पहिलो चरणको निर्वाचनमा भाग नलिएको सो दललाई निर्वाचनमा भाग लिन कानुनी प्रक्रियाबाट सहज होस् भनेर सरकारले दोस्रो चरणको निर्वाचन तेस्रो पटक सारेको हो ।

सरकारले दोस्रो चरणको निर्वाचनको मिति सारेपछि भने राजपाले चुनाव बिथोल्ने गरी गरेको आन्दोलनको कार्यक्रम भने स्थगित गरेको छ । सो दलले यसअघि निर्धारित जेठ १९ गतेको उम्मेदवारी दर्ताकै दिन पारेर बन्द र आमहड्तालको कार्यक्रम तय गरेको थियो । राजपाले आन्दोलनको कार्यक्रम स्थगन मात्र गरेको तर फिर्ता भने नगरेको जनाइसकेको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजपालाई दोस्रो चरणको निर्वाचनमा ल्याउने वातावरण बनाउनकै लागि निर्वाचनको मिति सारेको बताउँदै आएका छन् । नेपाली काँग्रेसका नेताहरुले पनि मधेसी दललाई निर्वाचनमा सामेल गराउनकै लागि मिति सारिएको बताउने गरेका छन् । तर, राजपाका नेताहरुले भने मिति सार्दैमा आफूहरु चुनावमा आउने वातावरण नबन्ने बताउन थालेका छन् ।

राजपाले संविधान संशोधन र स्थानीय तहको संख्या वृद्धि नै आफूहरुको बटमलाइन रहेको बताउँदै आएको छ । तर, असार १४ यता संविधान संशोधन हुने कुनै सम्भावना रहेको देखिँदैन भने स्थानीय तहको संख्या बढाउने सरकारको निर्णयलाई यसअघि नै सर्वोच्च अदालतले रोक लगाइसकेको छ । दोस्रो चरणको चुनावअघि राजपाले अघि सारेका मागहरुको सम्बोधन हुने सम्भावना क्षिण हुँदै गएको देखिएको छ । सरकारले राजपालाई चुनावमा सामेल गराउने उद्देश्यले निर्वाचनको मिति सारेर मध्य असारमा पुर्याए पनि सो दल सहज रुपमा चुनावमा भाग लिने पक्षमा नरहेको बुझिएको छ ।

प्रतिक्रिया दिनुहोस्