मधेसी नेता भन्छन्– ‘हामीलाई भारतीय नै देख्छन् भने झण्डा भारतको जस्तो हुँदा के भयो र ?’


८ वैशाख । तराई–मधेसका नाममा आन्दोृलन गरिरहेका ६ मधेसी दलबीच एकतापछि बनेको नयाँ पार्टी राष्ट्रिय जनता पार्टीका एक नेताले सो दलको झण्डाबारे विवादास्पद अभिव्यक्ति दिएका छन् । सो दलका नेता लक्ष्मणलाल कर्णले विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

गठनपछि बनेको नयाँ दलको झण्डा भारतीय झण्डासँग मिल्दोजुल्दो भएको भन्दै सबैतिरबाट आलोचना भैरहेका बेला उनले विवादास्पद अभिव्यक्ति दिएका हुन् ।

तपाईँहरुले नयाँ पार्टीको झण्डा त भारतीय झण्डासँग मिल्दोजुल्दो राख्नु भएछ नि ? भनी गरेको प्रश्नमा उनले रिसाउँदै भने– ‘हामीलाई कसले पो नेपाली भनेका छन् र ? हामीलाई भारतीय भनेर आरोप लगाइरहेकै छन् भने झण्डा भारतको जस्तो हुँदा के भयो र ?

पहिला उनले त्यसरी प्रतिक्रिया दिए पनि पछि भने केही शान्त हुँदै कम्युनिष्टहरुले पनि हँसिया–हतौडा अंकित झण्डा प्रयोग गरेको भन्दै कुरा छल्ने प्रयास गरे ।

‘हामीलाई शासकहरुले हेर्ने दृष्टिकोण नै गलत छ,’ उनले भने, ‘हामीलाई मात्र किन आलोचना हुन्छ । उनीहरुले अरुको झण्डा प्रयोग गर्दा हुने हामीले नहुने ?’ उनले सद्भावना पार्टीको पहिला पनि झण्डा यस्तै भएको भन्दै गोलमोटल जवाफ दिए ।

प्रतिक्रिया दिनुहोस्