मधेसी मोर्चाका नेतालाई नेल्सन मण्डेला बन्न सत्यनारायण मण्डलको सुझाव


३ वैशाख । नेपाली काँग्रेसका प्रदेश नं. २ का केन्द्रीय सदस्य, जिल्ला सभापति, र व्यवस्थापिका संसदका सदस्यहरुको संयुक्त बैठकले तराई–मधेसको समस्या समाधान नगरी प्रदेश नम्बर दुईमा निर्वाचन सम्भव नभएको सुझाव पार्टी नेतृत्वलाई दिएका छन् ।

तर, प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)ले भने उनीहरुले पार्टी नेतृत्वलाई त्यसरी दिएको सुझावले निर्वाचन विथोल्न सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ । एमालेकै मधेसी नेताहरुले समेत त्यसको विरोध गरेका छन् । उनीहरुले काँग्रेसले निर्वाचन–निर्वाचन भने पनि दोहोरो चरित्र देखाएको भन्दै आलोचना गरेका हुन् । ‘काँग्रेसले अहिले निर्वाचनका नाममा दोहोरो चरित्र देखाएको छ,’ एमाले स्थायी कमिटी सदस्य सत्यनारायण मण्डलले भने, ‘अहिले काँग्रेसको दोहारो चरित्रका कारण निर्वाचन अन्योलमा परेको छ । निर्वाचन हुनेभयो भनेर उत्साहित प्रदेश नम्बर दुईका जनता अहिले विस्तारै निराश बन्न थालेका छन् ।’

प्रदेश नम्बर दुईको सप्तरीमा रहेका मण्डलले टेलिफोनबाटै भने– ‘२० वर्षपछि हुन लागेको निर्वाचनमा अरुलाई चुन्ने र आफैँ पनि चुनिने अवसरको नजिक आएका यहाँका जनता अहिले निर्वाचन नहुने हो कि भनेर सशंकित बनेका छन् ।’ यद्यपि निर्वाचन आयोगले सबै तयारी पूरा गरेकाले निर्वाचन नरोकिने उनले दाबी गरे ।

मोर्चालाई मण्डेला बन्न सुझाव

मण्डलले मधेसी मोर्चाका नेताहरु अहिले केही मधेसीको मात्र नेता बन्न खोजेको भन्दै सबै नेपालीको नेता बन्न सुझाव दिए । ‘अहिले मोर्चाका केही नेता केही मधेसीको मात्र नेता बन्न खोजिरहेका छन्,’ उनले भने, ‘उनीहरुले हामीलाई पनि मधेसी होइन भन्छन् । मेरो सुझाव छ, तपाईँहरु नेल्सन मण्डेला बन्नुहोस् ।’

दक्षिण अफ्रिकाका पहिलो अश्वेत राष्ट्रपति नेल्सन मण्डेलाको नाम लिदैँ मण्डलले भने– ‘दक्षिण अफ्रिकाको रंगभेदी शासन अन्त्यका लागि नेतृत्वदायी भूमिका खेल्नु भएका मण्डेला २७ वर्ष लामो जेल जीवनपछि देशकै पहिलो अश्वेत राष्ट्रपति बन्नुभएको थियो ।’

सुन १९५६ मा मण्डेलामाथि देशद्रोहको आरोप लागेको स्मरण गर्दै उनले भने– ‘१९६४ मा आजीवन कारावास सजाय भएको थियो । मण्डेला जेल गएपछि विश्वभरमा रंगभेदविरुद्धका आन्दोलनको एक प्रतिक बन्नुभयो ।’ मधेसी मोर्चाका नेतालाई पनि उनले केहीको होइन सबैको नेता बन्न सुझाव दिए ।

प्रतिक्रिया दिनुहोस्