मधेस समस्या समाधानका लागि सरकार परिवर्तनः नेता सिंह


२० भदौ । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले मधेसको समस्या समाधान गर्न सरकार परिवर्तन भएको बताएका छन् ।

नेपाल तरुण दल काठमाडौँ जिल्लाको चौंथो अधिवेशनको उद्घाटन गर्दै नेता सिंहले १७ महिनाभित्र स्थानीय, प्रान्तीय र केन्द्रीय तह निकायको निर्वाचन गर्न निकै जटिल रहेको बताए । ‘तीनवटा निकायको निर्वाचन गर्न दलहरुबीच चाँडोभन्दा चाँडो राजनीतिक सहमति हुन आवश्यक छ,’ उनले भने ।

तरुण दलका पूर्व अध्यक्ष एवम् रक्षामन्त्री बालकृष्ण खाँडले कांग्रेस पार्टीको विचारलाई आम युवामाझ लैजान तरुण दलको ठूलो भूमिका रहेको बताए ।

तरुण दलका अध्यक्ष एवम् सांसद उदयशम्शेर राणाले तरुण दललाई विपक्षी सङ्गठनले सम्मान गर्ने सङ्गठनका रुपमा स्थापित गर्न सक्नुपर्ने बताए । उनले तराईका केही जिल्लाको अधिवेशन नभएका कारण केही दिनका लागि अधिवेशनको समय सरेपनि तोकिएकै समयमा अधिवेशन हुने स्पष्ट पारे ।

नेका काठमाडौँ जिल्ला सभापति सबुज बानियाँले सबै तरुणको भावनालाई समेट्ने नेतृत्व आवश्यक रहेको बताउँदै एउटा भ्रातृ संस्थाको व्यक्ति अर्को संस्थामा निर्वाचन लड्न नपाउने व्यवस्था हुनुपर्ने सुझाव दिए । रासस

प्रतिक्रिया दिनुहोस्