मध्यभोटेकोशी आयोजनाले भुक्तानी नदिएपछि मजदुरहरुको बिचल्ली


सिन्धुपाल्चोक, २५ असोज । सिन्धुपाल्चोकमा निर्माणधिन १०२ मेगावाटको मध्यभोटेकोशी जलविद्युत आयोजनाका कर्मचारीहरुले चिनियाँ ठेकेदारहरुसँग करोडै रुपियाँ मागेपछि आयोजना निर्माणको जिम्मा पाएको चिनियाँ कम्पनी यतिबेला समस्यामा परेको छ । आयोजनाका कर्मचारीहरुले भनेको जति रकम नदिएपछि चिनियाँ ठेकेदारहरुले काम गरेको भुक्तानी समेत नपाउँदा कामदारहरुलाई पैसा दिन समेत चिनियाँहरुलाई चरम समस्या भइरहेको छ । सिन्धुपाल्चोकमा निर्माणधिन मध्यभोटेकोशी जलविद्युत आयोजनाले काम गरेको भुक्तानी नगर्दा आयोजनामा काम गर्नै मजदुरहरु मारमा परेका छन् ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाले सुरुङ लगायतको अन्य संरचना निर्माणको जिम्मा चिनियाँ कम्पनीलाई दिएको थियो । चिनियाँ ठेकेदार मार्फत काम गरेका नेपाली कामदारहरुलाई ठेकेदारले भुक्तानी नदिएपछि मजदुरहरु मारमा परेका हुन्।
दशै नजिकदै गर्दा काम गरेको पैसा लिएर घर जाने तयारीमा रहेका सिन्धुपाल्चोक लगायत अन्य जिल्लाका मजदुरहरु चिनियाँ कम्पनीले पैसा नदिएपछि दशैको मुखमा समस्यामा परेका छन् । काम गरेको भुक्तानीका लागि चिनियाँ ठेकेदारहरुलाई पटक पटक अनुरोध गरेपनि आयोजनाले पैसा नदिएकाले तत्कालै पैसा दिन नसक्ने बताएको मजदुर राम श्रेष्ठले बताए । एक हप्तादेखि घर जानको लागि पैसा मागीरहेका छौ तर चिनियाँ ठेकेदारहरुले पैसा नै दिदैन श्रेष्ठले गुनासो गरे ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाको सुरुङमार्ग लगायत अन्य संरचना निर्माणमा काम गरिरहेका मजदुरहरुले काम गरेको पैसा नपाएपछि बाह्रविसे नगरपालिकामा गएर पैसा दिने व्यवस्थाको पहल गरिदिन मजदुरहरु गएका छन् । आयोजनाका सबै मजदुरहरुले लामो समयदेखि पैसा नपाएको भन्दै नगरपालिकामा आएर गुनासो गरेका छन्, आयोजनासँग पैसा दिनको लागि पहल भएपनि आयोजनाले वास्ता नगरेको बाह्रविसे नगरपालिकाका मेयर निमफुञ्जो शेर्पाले बताए ।
मध्यभोटेकोशीले चिनियाँ ठेकेदारलाई काम गरेको भुक्तानी गरेपछि मात्रै चिनियाँ ठेकेदारहरुले नेपाली कामदारलाई पैसा दिने गरेको छ । चिनियाँ ठेकेदारले काम गरेको रकम भुक्तानीका लागि कन्सलटेन्स्मा पठाएपनि कन्सलटेन्सीले कामको बिल स्वीकृत नगर्दा समस्या भएको चिनियाँ ठेकेदारका सहयोगीहरुले बताएका छन् ।
तिन किलोमिटर बढी सुरुङ खनेपनि त्यसको भुक्तानीका लागि समेत मध्यभोटेकोशीले हालटाल गरेको चिनियाँ ठेकेदारहरुको आरोप छ । ११ करोडको बिल भुक्तानीका लागि अनुरोध गर्दा ८ करोड मात्रै भुक्तानी दिएको चिनियाँ ठेकेदारहरुको भनाइ छ । मध्यभोटेकोशीले सुरुङ लगायत अन्य संरचनाको काम बापत ५० करोड बढी भुक्तानी दिनु पर्ने भएपनि आयोजनाले भुक्तानीका लागि आलटाल गरेको चिनियाँ पक्षको गुनासो छ ।
मध्यभोटेकोशी जलविद्युत आयोजनाका एमडी मणीराम काफ्ले भने कन्सलटेन्सीले स्वीकृत गरेका बिलहरु सबैको आफुहरुले भुक्तानी गरेको दाबी गर्छन् । हामीले कन्सलटेन्सीले पठाएका सबै बिलको भुक्तानी गरेका छौ नपत्याय तपाँइ आफै आएर हेर्न सक्नुहुन्छ काफ्लेले भने । ठेकेदारले कन्सलटेन्स्ीलाई बिल पठाएपछि त्यसको अध्ययन गरेर ५६ दिन भित्र भुक्तानी गर्नुपर्ने कानुनी व्यवस्था भएपनि आफुहरुले त्यो भन्दा अघि नै भुक्तानी दिने गरेको काफ्लेले दाबी गरे ।
मध्यभोटेकोशीका कन्सलटेन्सीका प्रमुखहरुले भने चिनियाँ ठेकेदारसँग बिल पास गराउनका लागि कमीशन माग्ने गरेको मध्यभोटेकोशी सरोकार समितिका संयोजक सुप्पा श्रेष्ठले आरोप लगाए । आयोजनाले चिनियाँ ठेकेदारलाई भुक्तानी गर्नुपर्ने झण्डै ५० करोड रुपियाँ रहेछ,त्यसको बिलपास गराउन कन्सलटेन्सीका प्रमुख विजयलाल श्रेष्ठ लगायतको समुहले २ करोढ बढी मागेको श्रेष्ठले दाबी गरे । मध्यभोटेकोसीका कन्सलटेन्सी प्रमुख विजयलाल श्रेष्ठसँग सम्र्पक गर्न खोज्दा उनको मोबाइल अफ थियो ।
मजदुरहरुले भने आफुहरु आयोजना र चिनियाँ ठेकेदारको दुइ तर्फी मारमा परेको गुनासो गरेका छन् । आयोजनामा काम गर्ने मजदुरहरुले केही दिन भित्र काम गरेको रकम नपाए आफुहरु आयोजना स्थलमा नै अन्सन बस्ने चेतावनी दिएका छन् । हामीले काम गरेको रकम भुक्तानीका लागि सबैसँग अनुरोध गरेका छौ,नगरपालिकामा पनि निवदेन दिएका छौ,पैसा नपाए हामी अनसनमा बस्छौ मजदुर तिल तामाङले भने । बाह्रविसे नगरपालिकाका प्रमुख निमफुञ्जो शेर्पाले भने मजदुरहरुको पैसा दिलाउनका लागि पहल गरेपनि आयोजनाका एमडी एक सातादेखि मोबाइल स्वीच आफ गरेर बसेको मेयर शेर्पाले जानकारी दिए ।
सिन्धुपाल्चोकको हालसम्मकै ठुलो जलविद्युत आयोजना मध्य भोटेकोशीले हालसम्म जम्मा ३० प्रतिशत काम पनि सकेको छैन । सन २०१३ मा निर्माण सुरु भएको यो आयोजनामा व्यवस्थापकिय कमजोरीका कारण आयोजनाले गति लिन सकेको छैन । जिल्लाको गौरबको यो आयोजना कर्मचारी,बोर्ड,ठेकेदार लगायत सबैको दुहुनो गाइ नै भएको छ ।
२०१३ मा निर्माण सुरु भइ २०१७ को जुनमा आयोजना सक्ने योजनाका साथ काम सुरु भएपनि भुकम्प,नाकाबन्दी र भोटेकोशी बाढीको कारण आयोजनाको म्याद थपिएर सन २०१९ को जुनमा आयोजना सक्नु पर्नै छ ।
साविकको मार्मिङ गाविसको चाकु दोभानबाट भोटेकोशी र चाकु नदिको पानी सुरुङ भित्र हालेर सात दशमलब २ किलोमिटर सुरुङबाट गातीको जम्बुमा पावरहाउस निर्माण हुने छ ।
आयोजनाको मुख्य सुरुङ निर्माणको जिम्मा चिनियाँ ग्वाङसी हाइड्रो इलेक्ट्रोनिक कम्पनीले पाएको थियो । झण्डै ८ अर्बमा चिनियाँ कम्पनीले सुरुङ र पावर हाउस निर्माणको ठेक्का पाएको मध्यभोटेकोशी जलविद्युत आयोजनाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्