मध्य मधेसमा लुगा–कपडा बाँड्न धुर्मुस–सुन्तली व्यस्त


२८ पुस । यतिबेला तराई–मधेसको जनजीवन शीतलहरले कष्टकर बन्न पुगेको छ । मधेसका अधिकांश भूभाग शीतलहरको चपेटामा परेका छन् ।

बढ्दो शीतलहरले जनजीवन कष्टप्रद बन्दै गएपछि स्थानीय जनताका राहतका लागि अनेक निकायबाट प्रयत्न हुन थालेका छन् । सोही क्रममा चर्चित हास्यकलाकार सीताराम कट्टेल ‘धुर्मुस’ सुन्तलीले शीतलहरबाट प्रभावित मधेसका विभिन्न थलोहरुमा पुगेर न्याना कपडाहरु वितरण गर्न थालेका छन् ।

अहिले धुर्मुस शीतलहर प्रभावित मध्यमधेसका ग्रामीण बस्तीहरुमा केन्द्रित छन् । उनले प्रदेश नम्बर २ का रौतहट, महोत्तरी, धनुषा, सर्लाही, बारा, पर्सा, सिरहा र सप्तरीका शीतलहर प्रभावितलाई न्याना कपडा बाँड्न थालेका छन् ।

बिहीबार मात्रै कलाकार धुर्मुसले रौतहटको चन्द्रपुर नगरपालिकाको सन्तपुरका दलित बस्तीमा पुगेर लत्ताकपडा वितरण गरेका छन् । सो बस्तीका सय घर दलित परिवारलाई लुगाकपडा वितरण गरिएको हो । उनले खासगरी मुसहर बस्तीमा लुगाकपडा वितरण गरेका छन् ।

यसअघि धुर्मुस सुन्तली फाउन्डेसनले महोत्तरीका बर्दिबासका घरवारविहीन मुसहरका निम्ति आवास निर्माण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्