मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना, बाढी पहिरोको जोखिम बढ्यो


काठमाडौ, २१ साउन । उपत्यकासहित देशका विभिन्न ठाउँमा वर्षा भैरहेको छ । आइतबार रातिदेखि लगातार पानी परिरहेको र आज दिनभरी नै उपत्यकासहित देशका धेरै ठाउँको मौसम यस्तै रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् मन्जु बासीका अनुसार आज मध्य र पश्चिमका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना छ । केही ठाउँमा ठूलो वर्षा भइरहेकाले बाढी पहिरोको जोखिम बढेको छ । मध्य र पश्चिमी क्षेत्रका खोलानालामा बाढीको खतरा रहेको बाढी पूर्वानुमान शाखाले जनाएको छ ।

शाखाले देशभरका नदीहरुको बहाव बढ्ने भएकोले सतर्क रहन अनुरोध गरेको छ । काठमाडौं उपत्यकामा समेत सचेत रहन आग्रह गरिएको छ ।

बाग्मती–खोकना बाढी केन्द्रमा बहाब सतर्कता तह नजिक र बढ्दो क्रममा रहेको जनाइएको छ । त्यसैगरी काठमाडौं उपत्यकाका नख्खु, मनोहरा, बागमती, धोवीखोला, विष्णुमती लगायतमा बहाब बढ्दो रहेको शाखाले जनाएको छ । शाखाले होचो क्षेत्रमा डुवान हुन सक्ने भएकाले सतर्क रहन आग्रह गरेको छ । सिनामंगल क्षेत्रमा बागमती नदी किनारमा बस्दै आएको सुकुम्बासी बस्ती बागमतीमा आएको बाढीले खतरामा परेको छ ।

भक्तपुरको मध्यपुरथिमिस्थित राधेराधे क्षेत्रमा पनि डुबान पर्न सक्ने छ । आइतबार ७० घर डुबानमा परेका थिए भने सोमबार बिहान पनि डुबानमा परिने डरले स्थानीय त्रसित भएका छन् । केही घरहरु हनुमन्ते खोलाले डुबाएको छ । आज राति पनि ठूलो वर्षाको अनुमान गरिएको छ । तर भोलिदेखि भने कम पानी पर्ने मौसमविद्ले बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्