मन्त्रालय रित्याएर कृषि मन्त्री र चार सहसचिव विदेशतिर


१ कार्तिक । विदेश सयरमा धेरै कर्मचारी जाने मन्त्रालयहरुमध्ये कृषि विकास मन्त्रालय सम्भवतः पहिलो नम्बरमा नै पर्छ । तीन महिनाको अवधिमा करिब अढाई सय कर्मचारीहरुले विभिन्न देशमा गोष्ठी, सेमिनार र अध्ययन भ्रमणका रुपमा घुमघाम गर्ने मौका पाइसकेका छन् । अहिले पनि सो मन्त्रालयका अधिकांश कर्मचारीहरु विदेशतिरै छन् ।

कर्मचारीहरुले विदेश घुम्नमा नयाँ रेकर्ड राखेको थाहा पाएपछि कृषि विकास मन्त्री गौरीशंकर चौधरी पनि किन पछि हट्थे र ? उनी पनि हिजो बेलुकी दक्षिण कोरियातिर लागेका छन् । दक्षिण कोरियामा खासै कार्यक्रम नभए पनि सो देशको सरकारको निमन्त्रणा पाएपछि उनी केही दिनका लागि त्यतातिर लागेको मन्त्रालय स्रोतले बतायो । उनीसँगै सहसचिव एवं प्रवक्ता योगेन्द्रकुमार कार्की पनि गएका छन् ।

अहिले मन्त्रालयका पाँच सहसचिवमध्ये चार जना विदेशतिरै रहेका छन् । सहसचिव एवं मन्त्रालयको खाद्य सुरक्षा, कृषि व्यवसाय तथा वातावरण महाशाखाका प्रमुख लेखनाथ आचार्य चीनबाट फर्किसकेका छैनन् । उनी गत ८ अक्टोबरमा चीन गएका हुन् । विभिन्न कारखाना र सरकारी निकायको अध्ययन भ्रमण गर्ने सिलसिलामा उनी चीन गएको बताइन्छ । उनीसँगै वरिष्ठ कृषि प्रसार अधिकृत भगवानप्रसाद खतिवडा र लेखा अधिकृत लक्ष्मीप्रसाद घिमिरे पनि गएका छन् । उनीहरुको नेपाल फर्किने समय बितिसक्दा पनि अहिलेसम्म चीनतिरै रमाइरहेको बताइन्छ ।

त्यस्तै, सहसचिवद्वय डा. सुरोज पोखरेल र काशीराज दाहाल पनि जापानतिर उडेका छन् । सहसचिव डा. पोखरेलले मन्त्रालयको नीति तथा अन्तर्राष्ट्रिय सहयोग समन्वय महाशाखा हेर्दै आएका छन् भने अर्का सहसचिव दाहालले प्रशासन महाशाखा हेर्छन् । असोजको अन्तिम साता जापानतिर लागेका सहसचिवद्वय डा. पोखरेल र दाहाल आगामी कार्तिक ६ गतेसम्म जापानमै रहन्छन् । उनीहरु मार्केट ओरियन्टेड हर्टिकल्चर उत्पादन विषयक गोष्ठीमा भाग लिन त्यता गएका हुन् । तर, सहसचिवद्वयको जापान भ्रमण भने विवादमा परेको छ । जापान सरकारले सो गोष्ठीका लागि नेपालका प्राविधिक सहायक स्तरका कर्मचारीहरुका लागि भनेर पत्र पठाए पनि सहसचिवद्वय गएको बताइन्छ ।

यसरी नै, जापान जानेहरुमा कृषि विभागका महानिर्देशक युवकध्वज जिसी, वरिष्ठ कृषि प्रसार अधिकृत अम्मरराज शर्मा, राजेन्द्रकुमार मल्ल, दीपक पौडेल, होमराज विष्ट, नारायणकुमार श्रेष्ठलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्