मन्त्रिपरिषद्ले यस्तो निर्णय गर्यो


२० असोज । बिहीबार बसेको मन्त्रिपरिषद्को बैठकले सरकारका सचिव र सहसचिवहरुको नेतृत्व मूल्याङ्कन समितिमा पूर्वसचिव मधुरमण आचार्य र सुरेशमान श्रेष्ठलाई नियुक्त गरेको छ । उक्त समितिले सरकारका सचिव र सहसचिवहरुको नेतृत्व क्षमता र कार्यसम्पादनको नियमित अनुगमन गर्ने र सरकारलाई रिपोर्ट दिने काम गर्ने सरकारका प्रवक्ता सुरेन्द्र कार्कीले जानकारी दिए ।

प्रवक्ता कार्कीका अनुसार दशैं र तिहारका बेला वन फडानी हुनसक्ने अवस्थालाई मध्यनजर गर्दै करारका ४ सय ५० जना वनपालेहरुलाई यथावत् राख्ने र नियमित तलबको व्यवस्थापन गर्ने निर्णय पनि मन्त्रिपरिषद् बैठकले गरेको छ । लोक सेवाको परामर्श लिएर नयाँ प्रक्रियामा जाने काम तिहारपछि गर्ने निर्णय भएको पनि प्रवक्ता कार्कीले जानकारी दिए ।

बैठकले प्युठानको लुङमा गएको पहिरोमा परी मृत्यु हुने परिवारका लागि दसैं खर्चबापत् रु. १५ हजार सहयोग दिने प्रधानमन्त्रीको घोषणालाई अनुमोदन गर्दै दसैंअघि नै उक्त रकम पठाउने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस्