मन्त्रीले नै भन्न थाले, ‘सरकार धरापमा छ’


२३ मंसिर । संविधान संशोधन प्रस्तावमा सत्तारुढ दलहरु क्रमशः अल्पमतमा पर्दै गइरहेको बेला सरकारका बहालबाला मन्त्रीहरुले नै प्रचण्ड नेतृत्वको सरकार धरापमा परेको बताउन थालेका छन् । बिहीबार पोखरा पुगेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जीवनबहादुर शाहीले सिधै सरकार सङ्कटमा परेको बताए ।

नेपाली काँग्रेस कास्कीद्वारा बिहीबार आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री शाहीले संशोधन प्रस्ताव ल्याएपछि सरकार संकटमा परेको बताएका हुन् । ‘संशोधनले कमसेकम एउटा पक्ष खुसी बन्नु पथ्र्यो’, मन्त्री शाहीले भने, ‘संशोधनबाट आन्दोलनरत पक्ष पनि सन्तुष्ट छैनन्, सत्तारुढ दलकै कार्यकर्ता पनि असन्तुष्ट छन् ।’

प्रदेश नं ५ मा देखिएको समस्यालाई सुधार हुनेसम्म सुधार गरी लैजानुपर्नेमा पनि उनले जोड दिएका थिए । काँग्रेसले समयसापेक्ष नेपाली जनताको भावनालाई आत्मसात् गर्दै अघि बढ्नुपर्ने बताउँदै मन्त्री शाहीले पार्टीले गरेका राम्रा काम पनि प्रचार हुन नसकेको उल्लेख गरेका थिए ।

सोही कार्यक्रममा पोखरा विमानस्थलको निर्माण प्रक्रिया केही प्राविधिक कारणबाट ढिलो भए पनि काम अघि बढ्ने मन्त्री शाहीले बताएका थिए ।

प्रतिक्रिया दिनुहोस्