मन्त्रीले पवनलाई च्याप्दा डोलिडारका दाताहरु बेखुसी


२३ मंसिर । संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले दातृनिकायहरुले नरुचाएका एक जना सहसचिवलाई काखी च्याप्दा अर्बौं बजेट भएको मन्त्रालय मातहतको एउटा विभाग लथालिंग बन्न पुगेको छ । वार्षिक १ खर्बभन्दा बढी बजेट भएको सो मन्त्रालयको आकर्षक मानिने स्थानीय पूर्वाधार विकास तथा कृषि सडक विभाग (डोलिडार) मा मन्त्री पाण्डेले सहसचिव पवनकुमार श्रेष्ठलाई उपकार्यकारी निर्देशकमा केही दिनअघि मात्रै पदस्थापन गरेका हुन् ।

६÷७ महिनाअघि शान्ति तथा पुनर्निर्माण मन्त्रालयबाट डोलिडारमा काजमा आएका श्रेष्ठलाई करिब एक हप्ताअघि मात्रै मन्त्री पाण्डेले सोही विभागको उपकार्यकारी निर्देशकमा पदस्थापन गरेका थिए । उनको पदस्थापनसँगै डोलिडारलाई आर्थिक सहयोग पु¥याउँदै आइरहेका केही दातृनिकायहरु चिढिएको बताइन्छ । विगतमा डोलिडारअन्तर्गतको डीआरआइएलपी नामक परियोजनामा कार्यक्रम संयोजक रहँदा श्रेष्ठबाट अनियमितता भएको विषयलाई लिएर मुख्य दातृनिकायहरुले उनलाई हटाउन दबाब दिएका थिए ।

डोलिडारलाई आर्थिक सहयोग दिँदै आएको विश्व बैंक, एसियाली विकास बैंक, फिनल्याण्ड र स्वीसलगायत दातृनिकायहरुले श्रेष्ठलाई नहटाउने हो भने आर्थिक सहयोग रोक्ने चेतावनीसमेत दिएका थिए । तर, ६÷७ महिनाअघि घुमिफिरी डोलिडारमै पुगेका श्रेष्ठलाई उपकार्यकारी निर्देशकमा पदस्थापन गरिनुका साथै डोलिडारअन्तर्गतका २१ वटा परियोजना हेर्ने जिम्मा सुम्पिएपछि दातृनिकायहरुले हात झिक्ने संकेत दिएको बताइन्छ । उनलाई डोलिडारअन्तर्गतका डीआरआइएलटी, सिआइपी, एसएनआरपीपी, एसडब्ल्यूएटी, आरटीआई, आरआरआरलगायत कार्यक्रमहरुको जिम्मेवारी मन्त्री पाण्डेले दिएका छन् ।

त्यसो त, डोलिडारमा सहसचिवस्तरका चार जना उपकार्यकारी निर्देशकहरु रहनेमा श्रेष्ठकै योजनाअनुरुप सहसचिवद्वय रामचन्द्र श्रेष्ठ र गणेशराज वस्तीलाई भूकम्प पुनर्निर्माण आयोजना र भूकम्पीय आवास पुनर्निर्माण आयोजनामा पठाएर आफूले हालीमुहाली चलाइरहेका छन् । माओवादी केन्द्रको कर्मचारी संगठनसँग आबद्ध रहेका श्रेष्ठलाई मन्त्री पाण्डेले डोलिडारको महत्वपूर्ण कार्यक्रमहरु हेर्ने जिम्मा दिएपछि श्रेष्ठको कामप्रति असन्तुष्ट रहेका दातृनिकायहरुले हात झिक्ने सम्भावना बढ्दै गएको र त्यसले डोलिडारका कार्यक्रमहरु प्रभावित बन्ने अवस्था सिर्जना भएको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्