मन्त्री पाण्डेले भने, ‘जनजाति प्रतिष्ठान खारेज हुँदैन’


२६ माघ । आदिवासी जनजातिका अगुवाहरुले र्याख्र्याख्ती पारेपछि संघीय मामिला तथा स्थानीय विकास मन्त्री हितराज पाण्डेले बाध्य भएर आदिवासी जनजाति राष्ट्रिय उत्थान प्रतिष्ठान खारेज नहुने आश्वासन दिएका छन् ।

सो प्रतिष्ठानको स्थापना दिवसका अवसरमा मंगलबार विभागीय मन्त्रीको हैसियतले पाण्डेलाई प्रमुख अतिथिका रुपमा निम्त्याइएको थियो । कार्यक्रममा आदिवासी जनजाति राष्ट्रिय महासंघका अध्यक्ष जगत बराम, पूर्वमहासचिव बालकृष्ण मावुहाङ र चिनीमाया माझीलगायतले मन्त्रीसामु प्रश्न गरे, ‘आदिवासी जनजातिहरुले लडेर ल्याएको प्रतिष्ठान किन खारेज गर्नुप¥यो ?’

आदिवासी जनजाति क्षेत्रका अगुवाहरुले प्रतिष्ठान खारेज गर्नु नहुने र गठनको चरणमा रहेको आदिवासी जनजाति आयोगलाई कामकाजी तुल्याइनुपर्ने कुरा उठाएका थिए । आदिवासी जनजाति क्षेत्रका अगुवाहरुको भनाइ सुनेपछि मन्त्री पाण्डेले ‘पछि के हुन्छ, थाहा भएन । तर, तत्काललाई भने प्रतिष्ठान खारेज हुँदैन’ भनी आफ्नो मन्तव्यका क्रममा बोलेका थिए ।

प्रधानमन्त्री कार्यालयले गएको माघ १ गते संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयलाई पत्राचार गरेर प्रतिष्ठानको औचित्यबारे पन्ध्र दिनभित्र रिपोर्ट पेश गर्न निर्देशन दिएको थियो । त्यसपछि प्रतिष्ठान खारेज हुने तयारी मन्त्रालयले थालेको थियो । प्रतिष्ठान खारेज गर्ने तयारी थालेसँगै आदिवासी जनजाति क्षेत्रका अगुवाहरुले व्यापक रुपमा विरोध गर्दै आएका थिए ।

प्रतिक्रिया दिनुहोस्