मन्त्री हुँदा दौरा–सुरुवाल लगाउने र मन्त्री छाडेपछि हिन्दीमा भाषण गर्ने नगर्नुहोस्ः लालबाबु पण्डित


११ भदौ । नेकपा (एमाले)का पोलिट्ब्युरो सदस्य एवम् पूर्व मन्त्री लालबाबु पण्डितले तराई मधेस केन्द्रित दलका केही नेताहरुको कार्यशैलीको आलोचना गरेका छन् ।

नेकपा (एमाले) स्कूल विभागले सञ्चालन गरेको एक हप्ते प्रशिक्षणका क्रममा यस्तो आलोचना गरेका हुन् । पण्डितले सरकारमा रहँदा दौरा–सुरुवाल र टोपीमा ठाँटिएर नेपालीमा भाषण ठोक्ने नेताहरु सरकार बाहिर हुने वित्तिकै धोती र कुर्तामा हिन्दीमा भाषण छाँट्ने परम्पराको अन्त्य नहुञ्जेल तराई–मधेसका समस्या समाधान नहुने दाबी गरे ।

पण्डितले तराई–मधेसको संस्कृतिलाई होच्याउने काम तराई–मधेसकै नेताहरुले गरेको पनि दाबी गरे । उनले गजेन्द्रनारायण सिंहले सन् १९८० मा सद्भावना परिषद् गठन गरेपछि तराई–मधेसमा दुइवटा विचारधाराले प्रवेश पाएको भन्दै सत्ताका लागि मधेसवादी पार्टी टुक्र्याउने संस्कारको थालनी सिंहले नै गरेको इतिहास कोट्याए ।

‘अहिले पनि मधेसमा मधेसवादी नेताहरु केही सरकारमा जाने र केही सरकार बाहिर वस्ने बहसमा छन्,’ उनले भने, ‘पहिला गजेन्द्रनारायण सिंहका पालामा पनि यही भएको थियो । सिंहले खोलेको पार्टी सत्ताको लागि टुक्रा–टुक्रामा विभाजित भएका छन् ।’ उनले अहिले उपेन्द्र यादवहरुले आफूलाई गोपालवंशीका सन्तान भन्ने गरेको स्मरण गराउँदै पण्डितले भने– ‘काठमाडौँमा सबै भन्दा बढी शासन सञ्चालन गर्ने उनीहरु नै थिए । त्यसो हो भने उपेन्द्रजीहरुलाई कहाँ विभेद भयो त ?

प्रजातन्त्र प्राप्तिपछि मधेस मूलका मधेश मूलका ५६ जना भन्दा बढी मन्त्री भएको भन्दै उनीहरुले मधेसलाई के दिए भनी पण्डितले प्रश्न गरे ।‘तराईका सदरमुकाम  जाने सबै बाटाहरु कच्ची र बिग्रेका छन्,’ उनले भने, ‘मधेसका नेताले के गरें त ?’

उनले मन्त्री भएपछि काठमाडौँमा तीन–चार वटा घर बनाउँदैमा तराई–मधेसका नेताहरु व्यस्त भएको पनि आरोप लगाए । पण्डितले एमालेको सरकारले स्थानीय निकायमा महिला र दलितको अनिवार्य सहभागीता ,आफनो गाउँ आफै बनाउँ कार्यक्रम ,बृद्ध–विधताभत्ता, अपाङ्गभत्ताका साथै सामाजिक सुरक्षा जस्ता कुरामा जोड दिएको पनि दाबी गरे ।

प्रतिक्रिया दिनुहोस्