‘मबाट आग्रह र पूर्वाग्रह हुँदैन’ :मन्त्री बुढाथोकी

भदौ । नवनियुक्त सामान्य प्रशासनमन्त्री केशवकुमार बुढाथोकीले कर्मचारीलाई आग्रह र पूर्वाग्रही नराखी ढुक्क भएर काम गर्न निर्देशन दिएका छन् ।
सिंहदरबारमा सामान्य प्रशासन मन्त्रालयको पदभार ग्रहण गरेपछि मन्त्री बुढाथोकीले निर्देशन दिँदै भने – “म कुनै आग्रह र पूर्वाग्रहमा सञ्चालिन हुने छैन । क्षमताका आधारमा काम गर्नुहोस् । मेरो साथ हुन्छ ।”
योग्य र क्षमता भए पनि पहुँच नपुगेर पछाडि परेका कर्मचारीलाई अगाडि बढ्न आग्रह गर्दै उहाँले पछि परेका कर्मचारीको मनोबल उठाउन आफूले प्रयास गर्ने बताए।
उहाँले क्षमताका आधारमा कर्मचारीलाई पुरस्कार र दण्डको व्यवस्था गरिनेसमेत जानकारी गराए ।
“परिश्रमी कर्मचारीलाई पुरस्कार दिइनेछ । काम नगर्ने कर्मचारीलाई दण्डको पनि व्यवस्था हुन्छ” – उनेले भने ।
मन्त्री बुढाथोकीले राजनीतिक र प्रशासनिक क्षेत्रले देश चलाउने बताउँदै दुवैको समन्वयमा मात्र मुलुकले अगाडि बढ्ने जानकारी गराए ।
मन्त्री बुढाथोकी विसं २०७० मा भएको संविधानसभाको निर्वाचनमा झापा क्षेत्र नं ५ बाट प्रत्यक्ष प्रणालीमार्फत निर्वाचित हुनुभएको हो । विसं २०२४ मा विद्यार्थी आन्दोलनबाट राजनीतिक यात्रा सुरु गर्नुभएका मन्त्री बुढाथोकीले नौ महिना जेलजीवनसमेत बिताएका हुन ।
झापाको शनिश्चरे–२ मा विसं २००१ जन्मनुभएका मन्त्री बुढाथोकी पञ्चायती व्यवस्थाअन्तर्गतको अन्तिम मन्त्रिपरिषद्मा जलस्रोत सहायक मन्त्री भएका थिए ।
पदभार समारोहमा मन्त्रालयका सचिव टङ्कमणि शर्माले मन्त्रालयमा भइरहेका र आगामी कार्यहरुका बारेमा जानकारी गराएका थिए । रासस