मल छैनः किसानको फोन लगातार


सर्लाही, ३ असार । जिल्लामा धान रोप्ने समयमा मल अभाव भएको छ । रोपाइँका लागि खेतमा ब्याड तयार भए पनि सहज रुपमा मल उपलब्ध हुन सकेको छैन ।
केही व्यापारीले मल राखे पनि अभावको फाइदा उठाउँदै चर्को मूल्यमा बिक्री गर्दै आएको किसानले गुनासो गरेका छन् । कोरोना भाइरसका कारण जिल्लामा मल नआउँदा बिक्रीवितरणमा समस्या भएको कृषि सामग्री संस्थान लिमिटेडले जनाएको छ । ब्याडका लागि बीउ छर्नुभन्दा अगाडि डिएपी मल खेतमा हाल्ने गरेका किसान धान रोप्ने समयसम्म पनि मल नपाउँदा थप चिन्तित बनेका छन् ।
‘बीउ छर्ने बेलामा मल नहाल्दा ब्याड यस वर्ष राम्रो हुन सकेन’, हरिवन–२ अत्रौलीका रामपुकार महतो गुनासो गर्नुहुन्छ । भारतबाट ल्याउन जाँदा लकडाउनका कारण प्रहरीले जान दिँदैन । अरु वर्ष नेपाली बजारमा अभाव हुँदा भारतबाट ल्याएर पनि खेती गर्ने गरेको तर यस वर्ष कुनै उपाय नभएको किसानको भनाइ छ ।
जिल्लामा अहिले मलको अभाव रहेको कृषि सामग्री संस्थानका प्रमुख बज्रमणि लामाले बताउनुभयो । धान खेतीका लागि मात्रै जिल्लामा एक हजार पाँच सय मेट्रिक टन डिएपी र दुई हजार मेट्रिक टन युरिया मलको आवश्यकता पर्ने गरेको भए पनि लकडाउनका कारण मल ल्याउन नपाउँदा किसान मारमा परेको लामाको भनाइ छ । अहिले संस्थानमा करीब १५० मेट्रिक टन डिएपी र दुई ट्रक युरिया बाँकी रहेको उहाँ बताउनुहुन्छ । अहिलेलाई डिएपीको माग बढ्दो र गोदाममा भएको मलले एक दुई गाउँलाई पनि नपुग्ने भएकाले माग गरिएको लामाले बताउनुभयो । रोपाइँ भइसकेपछि साउनतिर युरिया चाहिन्छ ।
केही दिन अगाडि आएको मल मकै खेतीका लागि किसानले लिएर गएको र अहिले धान खेतीको समय भए पनि गोदाममा मल नभएको तर किसानले मलका लागि फोन गरेको ग¥यै छन् । यही असार १ गतेदेखि मल सहकारीमार्फत बिक्रीवितरण गर्ने तयारी भए पनि संस्थानमा मल नै नभएर बिक्रीवितरण गर्न नसकिएको प्रमुख लामाले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्