मसित प्रधानमन्त्रीले कुनै असन्तुष्टि जनाउनुभएको छैनः सिइओ ज्ञवाली


७ असोज । अचेल राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीको व्यस्तता निकै बढेको छ । उनी बिहानदेखि बेलुकीसम्मै भूकम्प–पीडितहरुलाई बिना झन्झट अनुदान दिलाउने कार्यमा क्रियाशील रहन्छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले नै भूकम्प–पीडितहरुलाई अनुदान वितरण र वृद्धिमा विशेष चासो र तदारुकता देखाएपछि अहिले ज्ञवाली र प्राधिकरणको सबै कर्मचारीहरुमा व्यस्तता बढ्न पुगेको हो ।

अधिकांश भूकम्प–पीडितहरुले पहिलो किस्ताको अनुदान पाएसँगै अहिले प्राधिकरणले दोस्रो किस्ता वितरण गर्ने र एक लाख अनुदान वृद्धि गर्नेबारे गृहकार्य गरिरहेको छ । आउँदो आइतबार प्राधिकरणको निर्देशन समितिको बैठक बसेर प्राधिकरणको समग्र वस्तुस्थितिका साथै अहिलेसम्म भएका कामहरुको प्रगतिबारे छलफल हुँदैछ । प्रधानमन्त्री नै सो समितिको अध्यक्ष रहने व्यवस्था छ र सो बैठकमा प्राधिकरणको सांगठनिक संरचना, बजेट र पुनर्निर्माणको विषयमा छलफल भई टुंगो लाग्ने बताइएको छ ।

यसअघि, भूकम्प–पीडितहरुलाई आवास निर्माणका लागि पूर्ववर्ति केपी शर्मा ओली नेतृत्वको सरकारले २ लाख रुपियाँ दिने निर्णय गरे पनि प्रधानमन्त्री दाहालले भने थप १ लाख थपेर ३ लाख अनुदान पु¥याउने घोषणा गरिसकेका छन् । प्रधानमन्त्रीको अनुदान रकम वृद्धि गर्ने घोषणालाई सोही दिन बस्ने निर्देशन समितिको बैठकले टुंगो लगाउने सम्भावना रहेको छ । प्रमुख कार्यकारी अधिकृत ज्ञवाली भन्छन्–‘अनुदान रकममा १ लाख वृद्धि गर्ने विषयमा अर्थ मन्त्रालयका प्रतिनिधिले स्रोतबारे बताउनु हुनेछ । त्यसपछि केही टुंगो लाग्ला ।’
निर्देशन समितिको बैठक प्रधानमन्त्री दाहालको नेतृत्वमा सरकार बनेपछि पहिलो पटक बस्न लागेको हो । यसअघि पूर्ववर्ति सरकारको पालामा गत असारमा सो समितिको बैठक बसेको थियो ।

प्राधिकरणको कामप्रति छैन असन्तुष्टि

प्राधिकरणका सिइओ ज्ञवालीले आफूहरु निरन्तर काममा लागिरहेको बताउँदै आफ्नो कामप्रति कोही पनि असन्तुष्ट नरहेको बताए । उनी भन्छन्–‘हाम्रो कामप्रति दातृ निकायहरु सन्तुष्ट छन् । दातृ निकायहरुले हाम्रो कामप्रति सन्तुष्टि जनाएर कामलाई अझै प्रभावकारी ढंगले निरन्तरता दिन निर्देशन दिएका छन् । पछिल्लो समयमा काममा देखिएको तीव्रताले हामीप्रति कसैले पनि औंला ठड्याउने ठाउँ पाएका छैनन् ।’

त्यसो त, प्रधानमन्त्री दाहाल पनि आफ्नो कामप्रति सन्तुष्ट रहेको ज्ञवालीले बताए । उनले भने–‘मसँग प्रधानमन्त्रीले कुनै असन्तुष्टि व्यक्त गर्नुभएको छैन । उहाँले सार्वजनिक कार्यक्रमहरुमा बोल्दा पनि प्राधिकरणको काम उत्साहजनक रहेको बताउँदै आउनुभएको छ ।’

सिइओ फेर्ने लालसा

दस महिनाअघि प्राधिकरणको सिइओमा नियुक्त भएपछि ज्ञवालीले प्राधिकरणको कामलाई चुस्त र प्रभावकारी ढंगले सम्पादन गर्दै आइरहेका छन् । तर, पूर्ववर्ति सरकारको पालामा प्राधिकरणमा ५ वर्षका लागि नियुक्त हुनुभएका ज्ञवालीलाई नयाँ सरकार बनेलगत्तै नेपाली कांग्रेस र माओवादी केन्द्रका नेताहरुले फेर्न चाहेको बताइन्छ । कानुन बमोजिम ५ वर्षका लागि प्राधिकरणको सिइओमा नियुक्त भएका ज्ञवालीलाई सहज रुपमा हटाउन सक्ने स्थिति भने छैन ।

ज्ञवालीलाई हटाउनका लागि अहिले प्रधानमन्त्री दाहाललाई कांग्रेसको दबाब रहेको बताइन्छ । तर, प्राधिकरणको पुनर्र्सरचना गरेरै भएपछि ज्ञवालीलाई हटाउने तयारीमा सरकार लागिपरे पनि सिइओ फेर्ने कुरामा भने दातृ निकायहरुले कान ठाडो पार्ने भएको हुँदा ज्ञवालीलाई सजिलै हटाउन अप्ठेरो पर्ने देखिन्छ ।

प्रतिक्रिया दिनुहोस्