महन्थ, राजेन्द्र र महेन्द्रको गृहजिल्लामा बढ्दै एमालेको चुनावी रौनक


२६ जेठ । राष्ट्रिय जनता पार्टीका ‘सर्वमान्य नेता’ महन्थ ठाकुरको गृहजिल्ला सर्लाहीको बलरा नगरपालिकामा खासै चुनावी रौनक छाएको छैन । सर्लाहीको दक्षिणी भेग बलराका वरिपरिका नगर र गाउँपालिकाहरुका जनताको ध्यान निर्वाचनमा भन्दा पनि खेतीपातीतिरै तानिएको छ । निर्वाचन हुने वा नहुने भन्ने अन्योल पनि उस्तै छ ।

तर, एमालेले भने ठाकुरको नगरपालिकामा उम्मेदवार उठाइसकेको छ । एमाले सर्लाही जिल्ला कमिटीका सदस्य चन्द्रिका सिंह चुनाव भए मेयरमा उठ्दैछन् । काँग्रेस, माओवादी केन्द्रलगायत दलले उम्मेदवार उठाउन जाँगर नचलाइरहेको बेला एमालेले भने राजपाका ६ नेतामध्ये तीन नेताको गृहजिल्ला सर्लाहीमा उम्मेदवारहरुको अन्तिम टुंगो लगाइसकेको छ ।

ठाकुरको नगरपालिकामा मात्र होइन, राजेन्द्र महतोको घर रहेको चन्द्रनगर गाउँपालिकामा पनि एमालेले उम्मेदवार खडा गरिसकेको छ । सो गाउँपालिकामा एमाले जिल्ला कमिटीका सदस्य विल्टु पासवान उठेका छन् । त्यस्तै, महेन्द्र राय यादवको घर रहेको हरिपुरवा नगरपालिकामा एमाले क्षेत्रीय कमिटीका अध्यक्ष जयप्रकाश यादव मेयरको प्रत्यासी बनेका छन् ।

सर्लाहीको १० नगरपालिका र ७ गाउँपालिकामध्ये एमालेले अधिकांश तहमा उम्मेदवार चयन गरिसकेको छ । ईश्वरपुर नगरपालिकामा एमाले प्रदेश कमिटीका सदस्य एवं पूर्वजिल्ला अध्यक्ष मनोज देवकोटा उठेका छन् भने सदरमुकाम मलंगवा नगरपालिकाको मेयरमा देवेन्द्र राय उठेका छन् । तर, एमालेले सहज रुपमा जित्ने उत्तरी क्षेत्रका हरिवन, लालबन्दी, वागमती र बरहथवा नगरपालिकाहरुमा भने अहिलेसम्म उम्मेदवार छनोट हुन सकेको छैन ।

उत्तरी क्षेत्रका हरिवन नगरपालिकामा डिल्ली उप्रेती, गणेश प्रसाई र धनबहादुर मिक्चनको नाम सिफारिस भएर प्रदेश कमिटीमा पुगेको छ । त्यस्तै, लालबन्दी नगरपालिकाबाट गोविन्द अधिकारी, रामबहादुर खड्का, बेचु लुंगेली र मानबहादुर खड्काको नाम सिफारिस भएको छ भने वागमती नगरपालिकाबाट वसन्तराज भट्टराई, चिरञ्जीवि पोखरेल र विष्णु पुलामीको नाम सिफारिस भएको छ । बरहथवा नगरपालिकामा भने कल्पना कटुवाल र माधव कोइरालाको नाम सिफारिस भएको छ ।

एमाले सर्लाहीका अध्यक्ष रेवती पन्त सो जिल्लाका अधिकांश तहमा एमालेले जित्ने दावी गर्छन् । उनले भने, ‘राजपाले निर्वाचनमा भाग लिएनन् भने दक्षिणतिरका तहहरुमा असर पुग्छ । तर, उनीहरुले भाग लिए भने हामी अधिकांश तहमा निर्वाचन जित्छौं ।’ उनले उत्तरी क्षेत्रका तहहरुमा काँग्रेस र माओवादी केन्द्रसँग र दक्षिणमा मधेसी दलसँग एमालेको प्रतिस्पर्धा हुने पनि बताए ।

प्रतिक्रिया दिनुहोस्