महराले भने, ‘फसाउन राजनीतिक षड्यन्त्र रचियो’


काठमाडौं, १६ कार्तिक । बलात्कार उद्योगमा मुद्दा चलाइएका तत्कालीन सभामुख कृष्णबहादुर महराले आफूविरुद्ध राजनीतिक रूपमा फसाउने षड्यन्त्र रचिएको दाबी गरेका छन् ।

संसद् सचिवालयकी महिला कर्मचारीमाथि बलात्कार गरेको आरोपको प्रतिवाद गर्दै उनले सभामुख पद र ओहदाको मर्यादा राखेको बयान शुक्रबार बन्द इजलासमा दिएका हुन् ।

पाँच घण्टा लामो बयानमा महराले संसद् सचिवालयकी कर्मचारी रोशनी शाहीले दिएको किटानी जाहेरीको प्रतिवाद गर्दै काठमाडौं जिल्ला अदालतमा ‘इन्कारी बयान’ दिएको स्रोतले बतायो ।

‘अदालत र प्रहरीसँग दिएको बयानमा संगति मिलेको छ । केही थप सन्दर्भका कुरा पनि आएका छन्,’ स्रोतले भन्यो, ‘एउटा सबालमा उहाँले मैले ओहदाको मर्यादा राखेको छु । पदको दुरुपयोग गरेको छैन भन्नु भएको छ । आफूलाई फसाउन राजनीतिक षड्यन्त्र रचिएको भनाइ समेत छ ।’

महराले बयानमा जाहेरीमा भनिएझैं आफूले रक्सी नपिउने दाबी गर्दै सामान्य प्रकृतिको व्यक्ति रहेको कुरा राखेका छन् ।

‘उहाँले आफूमाथि लगाइएको अभियोग झुटा हो भन्नु भएको छ । राजनीतिक प्रतिशोधका कारण अभियोग लगाइएको भन्ने भनाइ उहाँको छ,’ स्रोतले भन्यो, ‘आफूलाई फसाइएको हो भन्नेमै उहाँको जोड छ ।’ अन्नपूर्ण पोष्ट दैनिकबाट

प्रतिक्रिया दिनुहोस्