महाअभियोगका प्रस्तावका पक्षमा सहमति जुटाउन एमालेले अन्य दलसँग छलफल गर्ने


९ कात्तिक । नेकपा (एमाले) ले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीका विरुद्ध व्यवस्थापिका–संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावको समर्थन गरेको छ । 

एमाले अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बसेको स्थायी समितिको बैठकले महाअभियोग प्रस्तावको समर्थन गर्ने निर्णय गरेको हो । एमाले संसदीय दलको कार्यालय, सिंहदरबारमा बसेको बैठकले यस्तो निर्णय गरेको एमाले सचिव एवम् प्रचार विभाग प्रमुख योगेश भट्टराईले जानकारी दिए ।

बैठकले उक्त प्रस्तावलाई पारित गर्नका लागि व्यवस्थापिका–संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरुस“ग छलफल गर्दै प्रस्तावका पक्षमा सहमति निर्माण गर्ने निर्णय समेत गरेको छ ।

नियम, कानुन, विधि र प्रक्रिया नमानेका कारण अख्तियार प्रमुख कार्कीविरुद्ध संसदमा महाअभियोग प्रस्ताव दर्ता भएको भन्दै एमालेले खुलेर कार्कीको विरोध गर्दै आएको छ । आफुलाई सर्वेसर्वा ठान्ने, नियोजित रुपमा प्रतिशोध लिने र अरुलाई अपमान गर्ने प्रवृत्तिका कारण अख्तियार प्रमुख विरुद्ध महाअभियोग दर्ता भएको एमालेको ठहर छ ।

प्रतिक्रिया दिनुहोस्