महाअभियोग दर्तापछि अख्तियार प्रमुख कार्की स्वतः निलम्बित, यस्ता छन् सात आरोप


३ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीमाथि संसद्मा महाअभियोग प्रस्ताव दर्ता भएपछि उनी स्वतः निलम्बनमा परेका छन् । १ सय ५७ जना सांसद्ले बुधबार साँझ महाभियोग गर्ता गरेपछि संविधानको धारा १०१ को उपधारा ६ बमोजिम कार्की निलम्बनमा परेका हुन् ।

संविधानको धारा १०१ को उपधारा २ बमोजिम कार्कीका विरुद्ध एमाले र माओवादीका सांसदहरुले महाभियोग प्रस्ताव दर्ता गरेका हुन् । एमालेका प्रमुख सचेतक भानुभक्त ढकालले पहिलो न्युजसँग भने, ‘तयारी गरिरहेका थियौँ । आज उपयुक्त भएकाले संसद्मा प्रस्ताव दर्ता गरेका छौँ ।’

अभियोगमा के छ ?

स्रोतका अनुसार, एक पृष्ठको महाभियोगपत्रमा प्रमुख आयुक्त कार्कीमाथि सातवटा आरोप लगाएको छ । जो यस प्रकार छन्ः

१. नेपालको संविधानसम्मत रुपमा संवैधानिक निकायको प्रमुखका रुपमा काम नगरेको

२. नेपालको संविधान विपरीत केही चिकित्सकहरुलाई कारवाही गर्न त्रिभुवन विश्वविद्यालयलाई अनाधिकृत निर्देशन दिएको

३. आफ्ना नातेदारको लगानी रहेको किस्ट मेडिकल कलेजमा एमबीबीएस तथा एमडीका लागि सिट संख्या थप्न नेपाल मेडिकल काउन्सिललाई अनाधिकृत रुपमा निर्देशन दिएको

४. काठमाडौँ विश्वविद्यालयको एमबीबीएसको प्रवेश परीक्षामा अनाधिकृत रुपमा हस्तक्षेप गरेको

५. अख्तियार दुरुपयोग अनुन्धान आयोग ऐनप्रतिकुल कामकारवाही गरेको

६. आफूसँग असहमत व्यक्तिहरुमाथि प्रतिशोधपूर्ण रुपमा बिनाकारण कारवाही चलाएको

७. सर्वोच्च अदालतको म्याद तामेल गर्न नदिनका लागि हुलहुज्जत गरेर कानुनी शासनको खिल्ली उडाएको ।

प्रतिक्रिया दिनुहोस्