महाअभियोग प्रस्तावमा मेरो पनि हस्ताक्षर छैनः एमाले अध्यक्ष ओली


६ कात्तिक  । नेकपा (एमाले) अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले अख्तियार प्रमुख लोकमानसिंह कार्कीबिरुद्ध संसदमा दर्ता भएको महाअभियोग प्रस्तावका बारेमा नेपाली कांग्रेसलाई चिन्ता नलिन आग्रह गरेका छन् ।

विभिन्न विद्यार्थी संगठनका विद्यार्थी नेताहरुसँग आफ्नै निवास बालकोटमा कुराकानी गर्दै यस्तो बताएका हुन् । ‘अहिले नेपाली कांग्रेसले महाअभियोग प्रस्तावमा हाम्रो हस्ताक्षर भएन भनेर गुनासो गरेको छ,’ ओलीले भने ‘कांग्रेसलाई म ढुक्क हुन आग्रह गर्छु, त्यहाँ मेरो पनि हस्ताक्षर छैन । हस्ताक्षर नहुँदैमा चिन्ता मान्नु पर्दैन ।’

ओलीले नेकपा (एमाले) वा नेकपा माओवादी केन्द्रले संसदमा महाअभियोग प्रस्ताव दर्ता गराएको नभई संसदले नै गराएकाले त्यो सबैको भएको पनि बताए । ‘कांग्रेसलाई एमाले र माओवादीले महाअभियोग प्रस्ताव दर्ता गरेको भन्ने लागेको चिन्ता माने जस्तो छ,’ उनले भने ‘त्यो कुनै पनि दलले होइन, संसदले गरेको हो ।

ओलीले कार्कीबिरुद्ध दर्ता भएको महाअभियोग प्रस्ताव पारित भएरै छाड्ने पनि दाबी गरे । ‘व्यवस्थापिका संसदमा प्रतिनिधित्व गर्ने अधिकांश दलसँग छलफल गरेर नै प्रक्रिया प्रक्रिया अघि बढाएको हो,’ उनले भने ‘संसदको व्याकगियर छैन, तपाईँहरु ढुक्क हुनुहोस, प्रस्ताव पारित हुन्छ ।’

विभिन्न दलका शीर्ष नेतालाई दबाब दिन भन्दै अनेरास्ववियुका अध्यक्ष नविना लामा, अखिल क्रान्तिकारीका अध्यक्ष नरेन्द्र न्यौपाने, नेविसंघ महामन्त्री कुन्दन काफ्लेलगायतको टोली बालकोट पुगेको अखिलका सचिव आरसी लामिछानेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्