महाअभियोग प्रस्तावलाई विवेकशील ढंगले अघि बढाउँछुः सभामुख घर्ती


८ कात्तिक । सभामुख ओनसरी घर्तीले व्यवस्थापिका संसद्मा दर्ता भएको महाअभियोग प्रस्तावलाई विवेकशील ढंगले अघि बढाउने प्रतिबद्धता व्यक्त गरेकी छिन् ।

संयुक्त विद्यार्थी संगठनहरुका तर्फबाट सिंहदरबारस्थित उनकै कार्यकक्षमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध संसद्मा दर्ता भएको महाअभियोग प्रस्ताव तत्काल अघि बढाउन बुझाएको ध्यानाकर्षणपत्र  बुझ्ने क्रममा घर्तीले यस्तो प्रतिबद्धता व्यक्त गरेकी हुन् ।

‘सम्मानित संसद्मा विवेकपूर्ण ढंगले दर्ता भएको महाअभियोग प्रस्तावलाई म विवेकशील ढंगले अघि बढाउँछु,’ घर्तीले भनिन् । ध्यानाकर्षणपत्र बुझाउन अनेरास्ववियु, नेपाल विद्यार्थी संघ, अखिल क्रान्तिकारीलगायतका १३ विद्यार्थी संगठन सिंहदरबार पुगेको अनेरास्ववियुका सचिव आरसी लामिछानेले जानकारी दिए ।

संयुक्त विद्यार्थी संगठनका तर्फबाट नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेतालाई ध्यानाकर्षणपत्र बुझाइसकेको सचिव सुदेश पराजुलीले जानकारी दिए । सचिव पराजुलीका अनुसार घर्तीले महाअभियोग प्रस्ताव प्रक्रिया अघि बढिसकेको भन्दै प्रक्रिया नरोकिने दाबी गरेकी थिइन् ।

प्रतिक्रिया दिनुहोस्