महाभियोगविरुद्ध काँग्रेसकै स्रष्टाहरुले गरे आलोचना


१८ वैशाख । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाको विशेष योजना र जोडबलमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध सत्तारुढ दलहरु काँग्रेस र माओवादी केन्द्रले महाभियोग प्रस्ताव संसद्मा दर्ता गराएपछि त्यसको सर्वत्र विरोध र आलोचना हुन थालेका छन् । प्रमुख प्रतिपक्षी दल एमालेले मात्र होइन, सत्तारुढ दलभित्रैबाट आलोचना सुरु हुन थालेका छन् ।

नेपाली काँग्रेसनिकट मानिने साहित्यकार सनत रेग्मीले आफ्नो फेसबुक वालमा लेखे, ‘आजको दिन काँग्रेस बौलाएको दिन, विपिको आत्मा रोइरहेछ होला ।’ रेग्मी यसअघि गठित नेपाल प्रज्ञा–प्रतिष्ठानमा काँग्रेसको कोटाबाट सदस्य–सचिवमा नियुक्त भएका थिए । रेग्मीको टिप्पणीप्रति समर्थन जनाउँदै अर्का साहित्यकार खगेन्द्र गिरी ‘कोपिला’ ले पनि लेखेका छन्, ‘यद्यपि म काँग्रेसको मतदाता र समर्थक नभए पनि विपिवादी काँग्रेसप्रति सहानुभूति राख्ने मान्छे हुँ । आज काँग्रेसको यो निर्णयले म पनि हजुर जत्तिकै मर्माहत भएको छु सनत सर । न्यायिक सर्वोच्चतालाई काँग्रेसले नै लत्यायो भने अरु पार्टी सर्वोच्चतावादीहरुले झन् के गर्लान् ? बाटो देखाउनेले आफैं बाटोमा दिशा गरेजस्तो गरे देउवाले…।’

अर्का साहित्यकार रवीन्द्र समीरले लेखेका छन्, ‘आज सुशीला कार्कीमाथि मात्र होइन, ३ करोड नेपाली जनतामाथि महाअभियोग लगाइएको कालो दिन हो । विधिको शासनमाथि कु गरिएको दिन हो । जनताको आँखामा २० वर्षपछि पलाएको सपनाको मुनालाई निमोठिएको दिन हो । धिक्कार छ, तिनी खेताला तथा गोठालाप्रति जसले मालिकलाई खरानी चढाउन आफ्नै घरमा आगो लगाए ।’

प्रतिक्रिया दिनुहोस्