महावीरलाई ५ कक्षाका विद्यार्थीको सहयोग


१८ साउन । राष्ट्रिय आविष्कार केन्द्रको स्थापनामा जुटिरहनुभएका सूचना–प्रविधि अभियानकर्मी महावीर पुनलाई घट्टेकुलोस्थित सूर्योदय पब्लिक स्कुलका कक्षा ५ का निशान घिमिरेले रु पाँच हजार सहयोग गरेका छन् ।

मङ्गलवार आयोजित कार्यक्रममा विद्यालयका अध्यक्ष लक्ष्यबहादुर केसीले आफ्ना विद्यार्थीले सहयोग गरेको उक्त रकम पुनलाई हस्तान्तरण गरे । यसअघि आविष्कार केन्द्र खोल्न सहयोग माग्दै जनताको आँगनमा पुगेका पुनले त्यसका लागि पोखरास्थित आफ्नो २८ रोपनी जग्गा दान दिने घोषणा गरेका थिए ।

तत्कालीन प्रधानमन्त्री डा बाबुराम भट्टराईका पालादेखि चार सरकार प्रमुखलाई उनले आविष्कार केन्द्र खोल्न सहयोग वा सहुलियतमा ऋण दिन आग्रह गरे  तर प्रत्येक प्रधानमन्त्रीले उनलाई आश्वासन दिए पनि सहयोग दिएका छैनन् ।

म्याग्दी निवासी पुनले आफ्नो जिल्ला र छिमेकी जिल्ला पर्वतका गाउँ गाउँमा एकल प्रयासले ‘वायरलेस नेटवर्क प्रोजेक्ट’ सञ्चालन गरेर देश र समाजलाई सेवा पु¥याउँदै आउएका छन् । विज्ञान प्रविधि केन्द्रका संस्थापक समेत रहनुभएका उनले स्थानीयस्तरमै अनुसन्धान केन्द्र खोलेर ग्रामीण क्षेत्रका जनतालाई सहयोग गर्दै आएका छन् । गाउँमा बेतारे सञ्जालमार्फत सामाजिक र आर्थिक क्रान्ति गरेकामा पुनले सन् २००७ मा ‘रामोन म्यागासेसे सम्मान’ पाइसकेका छन्  ।

अभियानकर्मी पुनले गाउँलाई प्रविधियुक्त बनाउने आफ्नो योजनाबारे जानकारी दिँदै सबैको सहयोगले मात्र आफू सफल हुने बताए । छात्र घिमिरेले पुनको अभियानबाट प्रभावित भएर आफूले प्रतीकात्मक रुपमा मात्र सहयोग गरेको बताउँदै आफ्नो यो कार्यले सम्बन्धित निकायको ध्यानाकर्षण हुने विश्वास व्यक्त गरे । रासस

प्रतिक्रिया दिनुहोस्