महिला अधिकार थप सुनिश्चित गर्न राष्ट्रपतिको जोड


 

काठमाडौँ, १४ भदौ । राष्ट्रपति विद्यादेवी भण्डारीले बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास ९बिम्स्टेक० का सदस्य राष्ट्रले साझा प्रयासबाट महिला अधिकारको सुनिश्चित गर्नुपर्ने बताएकी छन्।

बिम्स्टेकको चौथो शिखर सम्मेलनमा सहभागी हुन नेपाल आएका सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखसँगको भेटघाटका अवसरमा सम्बोधन गर्दै भण्डारीले सम्मेलनले आपसी मित्रता, एकता, साझेदारी र आपसी सहयोगलाई थप मजबुत बनाउने विश्वास व्यक्त गरिन् ।

लामो सङ्क्रमणपछि जनताका प्रतिनिधिद्वारा बनाइएको नेपालको संविधान लागू भएपछि र गत २०७४ मा सम्पन्न निर्वाचनबाट बलियो जनादेशका साथ वर्तमान सरकार गठन भएपछि नेपालमा आयोजना भएको यो पहिलो महत्वपूर्ण अन्तर्राष्ट्रिय सम्मेलन भएको उल्लेख गर्दै उनले यसलाई नेपाली जनताले राष्ट्रिय उत्सवका रूपमा लिएको जनाईन ।

सदस्य राष्ट्रका राष्ट्र एवं सरकार प्रमुखको आगमनले नेपालीलाई थप उत्साहित र गौरवान्वित बनाएको उल्लेख गर्दै उनले भनिन्, “बिम्स्टेक हामी सबैको साझा पहिचानको रूपमा स्थापित भइसकेको छ । बङ्गालको खाडी केवल भौगोलिक एकाइ मात्रै होइन, ऐतिहासिक, सामाजिक र सांस्कृतिक पहिचान र सभ्यताको एउटा मुहान पनि हो । जसरी संसारकै उच्च हिमशिखर सगरमाथाको पानी बग्दैबग्दै संसारको सबैभन्दा ठूलो बङ्गालको खाडीसम्म पुग्छ, त्यसैगरी नेपालमा जन्मेका गौतम बुद्धको शान्ति र अहिंसाको दर्शन दक्षिण एशिया तथा दक्षिण–पूर्वी एशियाका म्यानमा, थाइल्याण्ड हुँदै अन्य एशियाली मुलुकसम्म फैलिएको छ ।”

यस क्षेत्रको एउटा साझा सम्पदा बौद्ध दर्शनले सबै सदस्य राष्ट्रलाई गहन रुपमा आबद्ध गरेको बताउँदै उनले हाम्रा जनताबीचको सम्बन्ध पनि शदियौँ पुरानो तथा आजपर्यन्त निकै घनिष्ठ र जीवन्त रहेको बताईन ।

राष्ट्रपति भण्डारीले दुई दशक लामो यात्रा पूरा गरेसँगै बिम्स्टेक सदस्य राष्ट्रबीचको आपसी सहयोग र साझेदारी थप घनीभूत बन्दै गएको महसुस गरिएको छ भन्दै बिम्स्टेकअन्तर्गत सहयोगका क्षेत्रका पहिचान, विभिन्न संयन्त्रको निर्माण एवं सचिवालयको स्थापनालगायत धेरै संरचना र पद्धति संस्थागत र क्रियाशील बन्दै गएको बताईन ।

“बिम्स्टेकप्रति जनताको चासो र अपेक्षा चुलिएको छ । हाम्रा जनता बिम्स्टेकको साझा छानोमुनि समृद्धिको सुन्दर सपना देख्न थालिसकेका छन्”, उनले भनिन्, “जनताको यो सपनालाई साकार बनाउन सदस्य राष्ट्रले सुमधुर एकता, साझेदारी र आपसी सहयोग थप अभिवृद्धि गर्दै अगाडि बढ्नुपर्छ ।”

प्रतिक्रिया दिनुहोस्