माओवादीकै कारण राजनीतिक समीकरणको कोर्स बदलियोः नेकपा एमाले


३ भदौ । नेकपा माओवादी केन्द्रले विभिन्न शक्तिहरुको प्रलोभनले फसेका कारण एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकार ढलेको एमालेले आरोप लगाएको छ । नेकपा (एमाले) स्थायी कमिटीको जारी बैठकमा  यस्तो आरोप लगाएको हो ।

‘हाम्रो पार्टीले नेकपा (एमाले) र माओवादी केन्द्रका बीचमा निर्माण भएको समिकरणलाई दिर्घकालीन रुपमा अघि बढाउन चाहेको भएता पनि माओवादी केन्द्र स्वयंले राजनीतिक समीकरणको कोर्स बदल्न चाहेकाले सम्भव भएन,’ बैठकपछि एमाले सचिव योगेश भट्टराईले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘ विभिन्न शक्तिहरुको प्रलोभनमा माओवादी फसेका कारण समीकरण बदलिन पुगेको हो ।’

बैठकमा सामान्य कमिकमजोरीलाई पार्टीले आगामी दिनका लागि शिक्षाका रुपमा ग्रहण गर्दै पार्टीलाई वैचारिक, राजनीतिक तथा संगठनात्मक क्षेत्रबाट एकताबद्ध बनाउँदै आगामी प्रतिस्पर्धामा श्रेष्ठता हासिल गर्ने अभियानमा पार्टीलाई परिचालन गर्नुपर्ने विषय उठेको पनि विज्ञप्तिमा उल्लेख छ ।

बैठकमा संविधानसभा र संसद्मा पार्टीले खेलेको भूमिका, नेकपा (एमाले) का अध्यक्षको नेतृत्वमा गठित सरकार र त्यसले गरेका काम, अघिल्लो राजनीतिक समीकरणमा परिवर्तन र नयाँ समिकरण निर्माण, पार्टीको आन्तरिक क्रियाकलाप र आगामी कार्यभार लगायतका विषयमा समिक्षात्मक धारणा राख्ने क्रम जारी रहेको पनि उल्लेख गरिएको छ ।

बैठकमा उपमहासचिव विष्णु पौडेल, संसदीय दलका उपनेता सुवास नेम्वाङ र स्थायी कमिटी सदस्य छविलाल विश्लकर्माले आ–आफ्ना धारणा राखेका थिए ।

संविधान निर्माणमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरेको, पार्टी नेतृत्वको सरकारले जनता र राष्ट्रका पक्षमा सकारात्मक काम गरेको, नेपालको परराष्ट्र सम्बन्धलाई सन्तुलित रुपमा परिचालन गरेको, राष्ट्रको आर्थिक समृद्धिका पक्षमा जनतामा आत्मविश्वास बढाएको लगायतका उपलब्धि हासिल भएका पनि छलफलमा उठेको उल्लेख गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्