माओवादीको कदम देशका लागि दूर्भाग्यपूर्ण


२८ असार । नेकपा (एमाले)ले नेकपा माओवादी केन्द्रले एमाले नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिएर देशका लागि दूर्भाग्यपूर्ण काम गरेको आरोप लगाएको छ ।

एमाले स्थायी कमिटीको ४० औं विशेष बैठकले यस्तो निर्णय गरेको हो ।  एमालेको स्थायी कमिटी बैठकले वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ निस्कर्ष निकालेको छ ।

एमालेले बैठकपछि एक विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको त्यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको दाबी गरेको छ । एमालेले बैठकपछि जारी गरेको जिज्ञप्ति यस्तो छः

प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा गठित वर्तमान सरकारलाई दिएको समर्थन फिर्ता लिई आफ्नो पार्टीका मन्त्रीहरुलाई फिर्ता बोलाउने नेकपा (माओवादी–केन्द्र) को निर्णय देशका लागि दुर्भाग्यपूर्ण छ । वर्तमान सरकार अत्यन्त प्रतिकूल परिस्थितिमा गठन भएको र मुुलुकका सामु उत्पन्न अनेकौं चुनौतीहरुको सफलतापूर्वक सामना गर्दै राजनीतिक स्थायित्व कायम गर्ने दिशामा दूरगामी महत्वका निर्णयहरु गर्दै अगाडि बढिरहेको यथार्थ सर्वविधितै छ ।

सरकारले संविधान कार्यान्वयन, भूकम्पपछिको पुनर्निर्माण र आर्थिक समृद्धिको आधारशीला निर्माण गरिरहेको अवस्थामा नेकपा (माओवादी केन्द्रको यस निर्णयले राजनीतिक अस्थिरता उत्पन्न गर्ने र संविधान कार्यान्वयनमा गंभीर प्रतिकूलता उत्पन्न गर्ने जोखिम पैदा गरेको छ ।

वर्तमान सरकार बनेयता सुदृढ बनिरहेको राष्ट्रिय स्वाधिनता, स्वाभीमान, राष्ट्रिय हितको रक्षा,आत्मनिर्भरता, सार्वभौमिक समानतामाथि आधारित नयाँ अन्तराष्ट्रिय सम्बन्ध र प्रधानमन्त्रीको मित्र राष्ट्र भारत र चिनको भ्रमणका क्रममा भएका महत्वपूर्ण उपलब्धिलाई समेत यस्तो अस्थिरताले आँच पुर्याउन सक्ने संभावनाप्रति पार्टी गंभीर बनेको छ ।
नेकपा (एमाले) जस्तो सुकै प्रतिकूल परिस्थितिमा पनि संविधानको रक्षा र कार्यान्वयन, राष्ट्रिय हितको संरक्षण र यसबीचमा सरकारबाट अगाडि बढाइएका अग्रगामी र जनपक्षीय सामाजिक आर्थिक कार्यक्रमहरुको पक्षमा दृढतापूर्वक अगाडि बढ्नेछ ।

राजनीतिक अस्थिरताको घडीमा राजनीतिक विकृतिले प्रश्रय नपाउन् र आधारभूत राष्ट्रिय हितमा आँच पुर्याउने कुनै पनि काम कार्बाही हुन नपाउन् भन्ने कुरामा सजग रहन र संविधान, राष्ट्रिय हित र एकताको पक्षमा एकतावद्ध भएर अगाडि बढ्न सबै प्रगतिशील र देशभक्त शक्तिहरुलाई नेकपा (एमाले) आह्वान गर्दछ ।

नेकपा (एमाले) उत्पन्न राजनीतिक समस्याको संंविधानसम्मत समाधानको दिशामा दृढतापूर्वक अगाडि बढ्नेजानकारी गराउदछौं ।

प्रतिक्रिया दिनुहोस्