माओवादीमा संविधान संशोधन र राष्ट्रिय सम्मेलनबारे छलफल सुरु


२५ कात्तिक । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा संविधान संशोधन र पार्टीको राष्ट्रिय सम्मेलनबारे छलफल प्रारम्भ भएको छ ।

बिहीबारबाट सुरु बैठकमा संविधान संशोधनबारे पार्टीको आधिकारिक धारणा र पार्टीको राष्ट्रिय सम्मेलनका विषयमा छलफल प्रारम्भ भएको हो । प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को अध्यक्षतामा बसेको बैठकमा संविधान संशोधनमा पार्टीको धारणा र राष्ट्रिय सम्मेलनबारे नेताहरुले आ–आफ्ना धारणा राखेका थिए ।

बैठकमा  सरकारको काम कारबाहीलाई थप प्रभावकारी बनाउने, जनताको पक्षमा हुन सक्ने र गर्न सकिने कामलाई व्यापक तयारीका साथ अगाडि बढाउने, सबै वर्ग तथा क्षेत्रलाई समेट्ने गरी संविधानको संशोधन गरी सर्वस्वीकार्य बनाउने विषयमा पनि  नेताहरुले धारणा राखेका थिए ।   बैठकलाई निरन्तरता दिने गरी बिहीबारको बैठक सकिएको प्रवक्ता पम्फा भुसालले जानकारी दिइन् ।

प्रतिक्रिया दिनुहोस्