माओवादीले ५२ करोडको हल्ला चलाएपछि एमाले आक्रोशित


६ साउन । आफ्नो पार्टीसँग राजनीतिक मुद्दा नमिल्ने र पार्टीगत रुपमा सम्पर्क समेत नरहेको संघीय समाजवादी फोरमका अध्यक्ष उपेन्द्र यादवलाई सरकार बचाइदिन ५२ करोड रुपियाँको अफर गरिएको भन्दै माओवादी वृत्तबाट प्रचार भएपछि सरकारको नेतृत्व गरिरहेको नेकपा (एमाले) आक्रोशित बनेको छ ।

विहीबार प्रचार विभाग प्रमुख योगेश भट्टराईले वक्तव्य निकाल्दै रातोपाटी अनलाइनले त्यस्तो समाचार प्रकाशित गरेकोमा कडा शब्दमा खण्डन गरेका छन् । एमाले महासचिव ईश्वर पोखरेल र प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख सल्लाहकार विष्णु रिमालले फोरम अध्यक्ष यादवसँग उक्त अफर गरेको कपोलकल्पित समाचार प्रकाशित गरेकोमा आपत्ति जनाएका छन् ।

वक्तव्यमा उल्लेख छ, ‘पार्टी महासचिव कमरेड ईश्वर पोखरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालले संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवलाई ‘सरकार बचाउने कार्यमा सहयोग गर्नका निमित्त ५२ करोड रुपैयाँ प्रस्ताव’ गरेको भन्ने कपोकल्पित समाचारले पार्ने भ्रमप्रति सचेत रहन हामी जनसमुदायसमक्ष आग्रह गर्दछौं । सरकारको बचाउका निम्ति आर्थिक त परै जाओस्, सो दलसँग राजनीतिक सहयोगको कुरा समेत यस सन्दर्भमा नभएको समेत स्पष्ट पार्दछौं ।’

उपेन्द्र यादवसँग आफ्नो पार्टीको सम्पर्क नै नरहेको उल्लेख गर्दै एमालेले भनेको छ, ‘समाचारमा उल्लेख भए जस्तो साउन १ गते मात्र हैन, अविश्वास प्रस्ताव पछिको परिवेशमा पार्टी महासचिव पोखरेल तथा प्रमुख सल्लाहकार रिमालले ‘संघीय समाजवादी फोरम’को केन्द्रीय कार्यालयमा पुगेर वा कहिं कतै अध्यक्ष यादवलाई त्यस प्रकारको भेटघाट गर्नुभएको छैन ।’

फोरमसँग आफ्नो पार्टीको मतभेद रहेको भन्दै एमालले भनेको छ, ‘मधेशी मोर्चा वा संघीय गठबन्धनसँग संविधानकै कार्यान्वयनका प्रश्नमा अनेकन असमझदारी छन् । ती असमझदारी कायम राखेर सरकार बनाउने वा टिकाउने कार्यमा ती दलहरुलाई सामेल गर्ने कुरा सम्भव छैन ।’

‘पार्टी अध्यक्ष कमरेड केपी शर्मा ओलीको नेतृत्वको सरकार स्पष्ट राजनीतिक सहमति, लक्ष्य र गठबन्धनमा आधारित रहेको तथ्य सबैमा विदितै छ । सरकार आफ्नो उद्देश्य र लक्ष्य साकार पार्न मात्रै क्रियाशील हुन चाहन्छ । अनुचित ढंगले सरकारमा टिक्ने वा बिकृतिजन्य उपाय अपनाएर सरकार टिकाउने पार्टीको र स्वयम् प्रधानमन्त्रीज्यूको कुनै इच्छा नरहेको समेत सबैमा स्पष्ट पार्न चाहन्छौं’ वक्तव्यमा उल्लेख छ ।

एमालेले त्यस्तो गलत प्रचार नगर्न अनुरोध गर्दै सुझाव दिएको छ, ‘सत्ता लिप्साले निर्लिप्त भई अवाञ्छित शक्तिहरुको मतियार बनी भ्रमको खेती नगर्न तथा आफ्नो पेशागत जिम्मेवारीबोध गर्न र तथ्यहीन समाचार सम्प्रेषण नगर्न समेत सबै सञ्चार माध्यमहरुलाई विशेष अनुरोध गर्दछौं ।’

प्रतिक्रिया दिनुहोस्