माओवादी–केन्द्रका एक नेताले भने, ‘ तराई र पहाडलाई एउटै प्रदेशमा राख्ने आन्दोलनमा हाम्रो सहभागिता हुनेछ ।’


१६ मंसिर । संविधान संशोधन गरी ५ नम्बर प्रदेशलाई टुक्र्याउने सत्तारुढ माओवादी–केन्द्रको कदमप्रति सोही पार्टीका केन्द्रीय नेताहरुले असहमति जनाउन थालेका छन् । माओवादी–केन्द्रका केन्द्रीय सदस्य आरसी न्यौपानेले एक अपिल जारी गर्दै ५ नम्बर प्रदेश टुक्र्याउने कुराको विरोध गरेका छन् ।

हिमाल, पहाड, तराईका राष्ट्रिय जीवनको अन्तर्निर्भरता र शक्तिलाई प्रतिकूल प्रभाव गर्ने गरी शास्वत सत्यलाई नै अस्तित्वहीन बनाउने दुष्प्रयास किमार्थ मुलुक र जनताले स्वीकार गर्न नसक्ने जनाउँदै न्यौपानेले भनेका छन्, ‘विवाद मिलाउने नाममा कहिल्यै विवादमा नआएको, छुट्टिनै नमान्ने गरी जनताबीच अन्तरसम्बन्ध कायम भएको पहाड र तराईलाई अलगअलग राज्य बनाउने कार्य जनअभिमत विरुद्ध छ । सारभूत रुपमा यही सार्वभौम सत्यलाई हृदयंगम गरी जागृत भएको राष्ट्रिय जनमत सही दिशा उन्मुख छ । यसमा हामी देशभक्त, राष्ट्रवादी, क्रान्तकारीहरुको दायित्व राष्ट्रिय अभिमतको रक्षा र दिशाबोध गर्नु हो ।’

उनले मौजुदा मूलधारमा रहेका राजनीतिक पार्टीहरुले राष्ट्रिय यथार्थअनुरुप हिमाल, पहाड, तराइको अविच्छिन्न अन्तरनिर्भरता मौजुदा राख्दै विकासको लागि संघीयतालाई शक्ति निक्षेपीकरणको सिद्धान्त अनुरुप तीन प्रमुख जलाधार कोशी, गण्डकी र कर्णालीलाई तीन प्रदेश कोशी, गण्डकी र कर्णालीलाई सर्वस्वीकृत रुपमा अगाडि बढाउन पनि उनले अपिल गर्दै भनेका छन्, ‘यस विषयमा रहेका अन्योलता र अकर्मण्यतालाई चिरी मार्ग प्रशस्त गर्नु मुलुकको हितमा रहेको ठम्याइ छ । यी एजेण्डाहरुलाई तदारुकताका साथ राजनीतिक पार्टीहरुले कार्यान्वयनमा उतार्नु मूल दायित्व समेत हो । यसमा कोही पनि चुक्नु हुँदैन ।’

प्रादेशिक सीमाङ्कन संशोधनको सम्बन्धमा जनस्तरबाट राष्ट्रिय हितमा उठेका आवाजप्रति आफूहरुले ऐक्यवद्धता जनाउँदै जारी विरोध कार्यक्रमहरुमा सहभागिता जनाउन पनि न्यौपानेले आव्हान गरेका छन् । उनले भनेका छन्, ‘लुम्बिनीमा तराई र पहाडलाई एउटै राष्ट्रिय मूल प्रवाह तथा एउटै प्रदेशमा राख्ने जुन सचेत अभियान तथा आन्दोलन चलिरहेको छ, त्यसमा हाम्रो ऐक्यवद्धता सहित सहभागिता छ ।’

प्रतिक्रिया दिनुहोस्