माओवादी–केन्द्रका नेता गजुरेल भन्छन्, ‘हामीबाट पनि केही कमजोरी रह्यो’


५ मंसिर । नेकपा (माओवादी–केन्द्र) का नेता हरिबोल गजुरेलले देशका प्रमुख राजनीतिक दलहरु र विद्रोही माओवादीबीच वृहत् शान्ति सम्झौता भएको दस वर्षको अवधि धेर नै उतारचढावमय रहेको बताएका छन् । नेता गजुरेलले भने, ‘दस वर्षको अवधिमा धेरै नै उतारचढाव रह्यो । परिवर्तनकारी शक्तिहरु कमजोर हुने र यथास्थिति तथा प्रतिगामी शक्तिहरुले टाउको उठाउने क्रम पनि चल्यो । तर पनि हामी हरेक अवरोधलाई चिर्दै अगाडि बढ्यौं ।’

आइतबार पहिलो न्युजसित कुराकानी गर्दै नेता गजुरेलले भने, ‘शान्ति प्रक्रिया अझै टुंगिएको छैन । संविधान कार्यान्वयनमा जटिलताहरु थपिँदै गएका छन् । तर, यी सबैलाई चिरेर अगाडि बढ्नुको विकल्प हामीसँग छैन । संविधान कार्यान्वयनलाई नै मुल ध्येय बनाएर हामी अगाडि बढ्नुपर्छ ।’

जनयुद्ध र शान्ति प्रक्रिया ऐतिहासिक पक्ष रहेको बताउँदै नेता गजुरेलले भने, ‘जनयुद्धका कारण कतिपय परिवर्तनहरु भए । तर, शान्ति प्रक्रियापछि जेजति परिवर्तन हुनुपथ्र्यो, त्यो रुपमा हुन सकेन ।’ आफूहरु शान्ति प्रक्रियामा आएपछि चौतर्फी रुपमा घेराबन्दी भएको र आफूहरुबाट पनि कमजोरी रहेको स्वीकार्दै उनले भने, ‘घेराबन्दी र हाम्रै कतिपय कमजोरीले गर्दा शान्ति प्रक्रिया अझै सार्थक निष्कर्षमा पुग्न सकेको छैन । संविधान कार्यान्वयन गराएर शान्ति प्रक्रियालाई सार्थक निष्कर्षमा पु¥याउनु नै अहिलेको आवश्यकता हो ।’

प्रतिक्रिया दिनुहोस्