माओवादी–केन्द्रको पछिल्लो प्रस्ताव– ‘एमालेको मुख्यमन्त्री भए आफूलाई सभामुख, आफ्नो मुख्यमन्त्री भए एमालेलाई सभामुख’


१ माघ । प्रमुख राजनीतिक दलहरुभित्र प्रदेशको मुख्यमन्त्री र सभामुख कसरी बाँडफाँट गर्ने भन्ने अभ्यास सुरु हुन थालेको छ । खासगरी, प्रदेशको मुख्यमन्त्री र सभामुखका लागि नेकपा (एमाले) र माओवादी केन्द्रबीच पछिल्लो समय छलफल तीव्र हुन थालेको छ ।

२ नम्बर प्रदेशबाहेक अरु ६ वटै प्रदेशमा वाम गठबन्धनका एमाले र माओवादीको स्पष्ट बहुमत रहेकाले ती प्रदेशहरुमा एमाले र माओवादी केन्द्रले नै मुख्यमन्त्री र सभामुख बनाउने छन् । २ नम्बर प्रदेशमा संघीय समाजवादी फोरम र राजपाबीच तालमेल हुँदा तिनै दलले मुख्यमन्त्री र सभामुख बनाउने अवस्था छ । तर, अरु प्रदेशमा भने एमाले र माओवादी केन्द्रकै सरकार गठन हुँदै छ ।

प्रदेशको मुख्यमन्त्री र सभामुखका साथै तीन सातापछि हुन लागेको राष्ट्रियसभाको निर्वाचनका लागि पनि वाम गठबन्धनबीच कसरी तालमेल गरेर अघि बढ्ने भन्ने विषयमा तीव्र रुपमा छलफल सुरु भएको छ । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनमा गठबन्धन गरेर बहुमत स्थानमा विजयी हात पारेका एमाले र माओवादी केन्द्रबीच राष्ट्रियसभा निर्वाचनका लागि तालमेल हुने छ ।

एमाले र माओवादी केन्द्रको संयुक्त कार्यदलको बैठकमा राष्ट्रियसभाको सिट बाँडफाँड र प्रदेश सरकार गठनका लागि केही दिनयता छलफल चलिरहेको छ । सो प्रयोजनका लागि एमाले र माओवादी केन्द्रले ६ सदस्यीय कार्यदल गठनसमेत गरेका थिए ।

पछिल्लो पटक बसेको कार्यदलको बैठकमा भने माओवादी केन्द्रले दुई मुख्यमन्त्री र चार प्रदेशसभाका सभामुख पाउनुपर्ने प्रस्ताव अघि सारेको छ । आइतबार बसेको एमाले र माओवादी केन्द्रका नेताहरुसम्मिलित कार्यदलमा माओवादी केन्द्रका नेताहरुले उक्त प्रस्ताव अघि सारेका हुन् ।

माओवादी केन्द्रले प्रदेश ६ र ७ मा मुख्यमन्त्री मागेका छन् । यसअघि भने माओवादी केन्द्रलाई प्रदेश २ र ६ मा मुख्यमन्त्री दिने सहमति ती दुई दलबीच बनेको थियो । तर, २ नम्बर प्रदेशमा वाम गठबन्धनले सरकार बनाउनसक्ने अवस्था नरहेपछि माओवादी केन्द्रले ७ नम्बर प्रदेशमा दाबी गरेको बताइन्छ । यसरी नै, सभामुखमा माओवादी केन्द्रले १, ३, ४ र ५ मा सभामुख मागेको छ । ती प्रदेशहरुमा एमालेको मुख्यमन्त्री बन्ने लगभग निश्चित भइसकेको छ र माओवादी केन्द्रले ती प्रदेशहरुमा मुख्यमन्त्रीको दाबी पनि गरेको छैन ।

माओवादी केन्द्रका नेताहरुले आफूले मुख्यमन्त्री लिएको प्रदेशमा भने एमालेलाई सभामुख दिने प्रस्ताव अघि सारेको छ । तर, एमालेले भने ६ र ७ नम्बर दुवै प्रदेशमा आफ्नो बहुमत रहेको हुँदा छाड्नै परे ६ नम्बर प्रदेश मात्र छाड्ने संकेत दिएको छ ।

प्रतिक्रिया दिनुहोस्