माओवादी नेतालाई मृत्युको मुखबाट बचाउन धेरै भूमिका खेलेको छुः वामदेव गौतम


८ साउन । नेकपा (एमाले)का वामदेव गौतमले प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अविश्वासको प्रस्ताव आउन नदिनका लागि आफूले धेरै प्रयत्न गरेको सदनलाई जानकारी दिएका छन् । ‘मलाई साँच्चिकै अप्ठेरो लागिरहेको छ, प्रस्ताव पार्टीको अध्यक्षका विरुद्धमा छ, प्रस्तावमा घनिष्ठ मित्रले पहिलो हस्ताक्षर गर्नुभएको छ, मित्रलाई सधैँ सही सल्लाह दिँदै आएको छु ।’

गौतमले भद्र सहमति आफूले नै गरेको भन्दै प्रचण्ड अधैर्य हुँदा गठबन्धन टुटेको दाबी पनि गरे । माओवादी नेतालाई मृत्युको मुखबाट बचाउन आफूले धेरै भूमिका खेलेको स्मरण गराउँदै उनले दर्ता भएको अविश्वासको प्रस्तावमा भएका बुँदाले माओवादीप्रतिको आफ्नो विश्वासनीयतालाई कमजोर तुल्याएको दाबी गरे ।

नेकपा (माओवादी केन्द्र) का नेता सुरेन्द्र कार्की संविधानको नायकका रुपमा उभ्याइएका संविधानसभाका तत्कालीन अध्यक्षले संविधानको अपव्याख्या गरेर सार्वभौम संसद्लाई तर्साउने काम गरेको भनी आलोचना गरे । उनले भने– ‘अझै पनि नयाँ सरकार गठनको कुरालाई शङ्काको दृष्टिकोणबाट हेर्ने प्रवृत्तिबाट राजनीतिक सङ्क्रमणले निकास पाउन सक्दैन ।’

सोही पार्टीका रामनारायण बिंडारीले संविधानको व्याख्या एउटा उपधारा र धारा हेरेर मात्र होइन, संविधानका सिद्धान्त र भावनाका आधारमा हुनुपर्छ भन्दै नेपालको संविधानको धारा २९८ नयाँ सरकार गठनलाई पूर्ण रहेको धारणा व्यक्त गरे ।

सत्तारुढ दल एमालेका डा राजन भट्टराई र पशुपति चौलागाईँले भने वर्तमान सरकारले माओवादी द्वन्दका समयमा गठन भएको जनसरकारले गरेको निर्णय कार्यान्वयन गरेन भनेर प्रधानमन्त्रीविरुद्धमा अविश्वासको प्रस्ताव ल्याइएको हो भनी प्रश्न गरे ।

प्रतिक्रिया दिनुहोस्