माओवादीले सरकारको समर्थन फिर्ता लियो, २ बजे पत्रकार सम्मेलन


असार २९ । नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन नेकपा माओवादी केन्द्रले फिर्ता लिने निर्णय गरेको छ । सत्तारुढ दल माओवादीकी प्रवक्ता पम्फा भुसालले सरकारलाई दिएको समर्थन फिर्ता गरेको पुष्टि गरिन् । ‘धेरै कुरा तपाईँहरुलाई थाहा नै छ,’ दुई बजे संसदीय दलको कार्यालयमा पत्रकार सम्मेलन छ, बाँकी सबै त्यही जानकारी दिउँला आउँनु है,’ भुसालले टेलिफोनमा भनिन् । जानकारी अनुसार माओवादी नेता जनार्दन शर्मा प्रभाकरले सरकारबाट समर्थन फिर्ता लिएको पत्र लिएर बालुवाटार र शीलत निवास गएका छन् ।

कांग्रेस सभापति शेरबहादुर देउवाले समेत बहुमतीय सरकारमा प्रचण्डलाई समर्थन गर्ने जनाउ दिएपछि प्रचण्ड सरकारलाई दिएको समर्थन फिर्ता लिने तयारीमा पुगेका थिए । यता कांग्रेस नेता डा प्रकाशसरण महतले पनि माओवादी सरकारबाट फिर्ता भए लगत्तै बैकल्पिक सरकारका बारेमा छलफल सुरु गर्ने जानकारी दिए । ‘हामी अब छलफल अघि बढाउँछौँ,’ महतले भने, ‘प्रचण्डलाई प्रधानमन्त्री बनाउँने कुरालाई हामीले हुँदैन भनेका छैनौँ ।’ माओवादीले करिब नौ महिनापछि सरकारलाई दिएको समर्थन फिर्ता लिएको हो । कम्युनिष्ट नेतृत्वको सरकार प्रायः नौ महिना भन्दा बढी टिक्ने गरेका छैनन् ।

प्रतिक्रिया दिनुहोस्