माओ त्से तुङका चर्चित दस भनाइहरु


१. आफूलाई अति विद्वान् मान्नेहरु

केही मानिसहरुले अलिकति माक्र्सवादी किताबहरुलाई पढेका छन् र आफूलाई अति विद्वान् सम्झन्छन् । तर उनीहरुले पढेको कुरा तिखारिएको छैन, त्यसले उनीहरुलाई विचारमा जरो गाड्ेको छैन, तसर्थ उनीहरुलाई त्यो कसरी प्रयोग गर्ने भन्ने थाहा छैन र उनीहरुका वर्गीय भावनाहरु पुरानै छन् । फेरि यस्ता मानिसहरु पनि छन्, जो खुबै घमण्डी छन् र केही किताबी वाक्यांश झिकेर आफूलाई डरलाग्दो सम्झन्छन् र खुब घृष्ट छन् । तर जब आँधी चल्छ, उनीहरुले मजदुर किसानहरुको बहुसंख्याको भन्दा धेरै फरक अडान लिन्छन् । पछिल्लाहरु दृढ रहँदा उनीहरु डग्मगिन्छन्, पछिल्लाहरु निर्णायात्मक हुँदा उनीहरु दोधारमा पर्छन् ।

२. तीन नियम र ध्यान दिनुपर्ने आठ कुरा

अनुशासनका तीन मुख्य नियमहरु यी हुन्ः
१. आफ्ना सबै काममा आदेशहरुको पालन गर ।
२. जनताबाट एउटा सियो र धागोको टुक्रासम्म पनि नलेऊ ।
३. कब्जा गरेको प्रत्येक कुरा संगठनलाई बुझाऊ ।
ध्यान दिनुपर्ने आठ कुराहरु यी हुन्ः
१. नम्र भएर बोल ।
२. आफूले किनेका मालको सुपथ मोल तिर ।
३. आफूले पैंचो लिएको प्रत्येक कुरा फर्काऊ ।
४. आफूले बिगारेको जुनसुकै कुराको पनि मोल तिर ।
५. जनतालाई कुटपिट र हप्काउने नगर ।
६. बाली नबिगार ।
७. स्वास्नीमानिसहरुसँग छाडा व्यवहार नगर ।
८. बन्दीहरुसित नराम्रो व्यवहार नगर ।

३. अन्तरविरोधहरुको विकासले नै समाज अघि बढ्छ

मुख्यतया समाजका भित्री अन्तरविरोधहरुको विकासबाट नै समाजमा परिवर्तनहरु हुन्छन् । अर्थात् उत्पादक शक्तिहरु र उत्पादन सम्बन्धहरुका बीचको अन्तरविरोध, वर्गहरुका बीचको अन्तरविरोध, पुराना र नौलाका बीचको अन्तरविरोध, यिनै अन्तरविरोधहरुको विकासले नै समाजलाई अगाडि बढाउँछ र पुराना समाजमाथि नौलो समाजको विजयको निम्ति यो भित्री प्रेरक शक्ति बन्दछ ।

४. कुचो नपुगेको ठाउँमा कसिंगर रहन्छ

जनतालाई संगठित गर्नुपर्ने कुरा हामीमा निर्भर छ । जहाँसम्म चीनका प्रतिक्रियावादीहरुको सवाल छ, तिनीहरुलाई उखेलेर फ्याँक्न जनतालाई संगठित गर्नुपर्ने कुरा हामीमा निर्भर छ । सबै प्रतिक्रियावादीहरु उस्तै हुन्छन्, तपाईले नहिर्काउन्जेलसम्म उनीहरु खस्दैनन् । यो आँगन बढार्नुजस्तै हो । यो त स्वाभाविकै छ, जहाँ कुचो पुग्दैन, त्यहाँको कसिंगर आफै बिलाउँदैन ।

५.मुर्खहरु कस्ता हुन्छन् ?

केही मुर्खहरुको चालचलनको वर्णन गर्ने एउटा चिनियाँ उखान छ, आफ्नै खुट्टामाथि खसाल्न ढुंगा उचाल्नु । सबै मुलुकका प्रतिक्रियावादीहरु यस्तै खालका मुर्ख हुन्छन् । आखिरी विश्लेषणमा क्रान्तिकारी जनतालाई सताउने तिनका अनेक कारबाहीले जनक्रान्तिलाई झन् तीव्रताका साथ विस्तृत क्षेत्रमा बढाइ दिन्छन् । रुसमा जारले र चीनमा च्याङकाई सेकले क्रान्तिकारी जनतामाथि गरेका अनेक अत्याचारपूर्ण कामले रुस र चीनका महान् क्रान्तिहरुमा यस्तो किसिमको भूमिका पूरा गरेन त ?

६. पियानो बजाउन सिक

पियानो बजाउन सिक । पियानो बजाउँदा दस वटै औंला गतिमा हुन्छन् । केही औंला मात्र चाल्ने र अरुलाई नचाल्ने गर्नाले काम चल्दैन । तर दस वटै औंलाले एकै चोटी थिचेमा राग निस्कँदैन । मीठो संगीत उत्पन्न गर्न, दसै औंलाले सामञ्जस्य राखेर तालसुर अनुसार चल्नुपर्छ । पार्टी कमिटीले आफ्नो केन्द्रीय कार्यलाई राम्ररी बुझ्नुपर्छ र साथसाथै केन्द्रीय कार्यका वरिपरि भएका अरु क्षेत्रका कामलाई चलाउनुपर्छ । हाल हामीले धेरै क्षेत्रमा ध्यान दिनु परेको छ । हामीले सबै इलाकाहरु, सशस्त्र इकाइहरु तथा विभागहरुमा कामको हेरविचार अवश्य गर्नुपर्छ । र, अरु समस्याहरुलाई छाडेर थोरै समस्याहरुमै सारा ध्यान लगाउनु हुँदैन । जहाँ समस्या छ, त्यहाँ हामीले आफ्नो औंला अवश्य राख्नुपर्छ र यस काइदामा हामीले सिपालु हुनैपर्छ । कोही पियानो राम्ररी बजाउँछन् र कोही नराम्ररी । उनीहरुले झिक्ने राग–रागिनीमा आनका तान फरक हुन्छ । पार्टी समितिका सदस्यहरुले पियानो बजाउन राम्ररी जान्नुपर्छ ।

७. कागजी बाघ हो, एटम बम

एटम बम कागजको बाघ हो । अमेरिकाली प्रतिक्रियावादीहरु जनतालाई तर्साउन यसको उपयोग गर्छन् । यो डरलाग्दो देखिन्छ । तर पनि वास्तवमा यस्तो होइन । निश्चय नै, एटम बम ठूलो रुपको संहारको अस्त्र हो । तर युद्धको विजय अथवा हारको परिणाम एक दुई नौलो किसिमका हतियारबाट होइन, जनताबाट नै निश्चित गरिन्छ ।

८. सही विचार कहाँबाट आउँछन् ?

मानिसका सही विचार कहाँबाट आउँछन् ? के ती आकाशबाट खस्छन् ? अहँ, के ती मनमा सहजै उब्जन्छन् ? अहँ । ती सामाजिक व्यवहारबाट, त्यसैबाट मात्र आउँछन् । ती तीन किसिमका सामाजिक व्यवहारबाट आउँछन्– उत्पादनका निम्ति संघर्ष, वर्गसंघर्ष र वैज्ञानिक प्रयोग ।

९. पहाडभन्दा गहुंगो मृत्यु

सबैले अवश्य मर्नुपर्छ । तर मर्नुको अर्थ फरक–फरक हुन्छ । प्राचीन चिनियाँ साहित्यकार जुमा चेनले भनेका थिए, ‘सबैमाथि मृत्य आए तापनि यो ताई पहाडभन्दा गह्रौं अथवा प्वाँखभन्दा हलुंगो पनि हुनसक्छ ।’ जनताका निम्ति मर्नु ताई पहाडभन्दा गह्रौं तर फासिस्टहरुका निम्ति काम गर्नु र शोषक र थिचोमिचो गर्नेहरुका निम्ति मर्नु प्वाँखभन्दा पनि हलुंगो हुन्छ ।

१०. सत्यको उल्लंघन

आँखामा पट्टी बाँधेर भँगेरा समात्ने वा माछा मार्न खोज्ने अन्धोले व्यवहार गर्नु, अधकल्चो र होस्लाङ हुन, नचाहिने गफमा लाग्नु, अल्पज्ञानमै सन्तुष्ट भएर रहनु, हाम्रो पार्टीका धेरै कमरेडहरुमा अझै रहेको धेरै नराम्रो कार्य प्रणाली यही हो । यो प्रणाली माक्र्सवाद–लेनिनवादको आधारभूत भावनाको बिल्कुलै विपरीत छ । माक्र्स, एंगेल्स, लेनिन र स्तातिनले हामीलाई हामीले अवस्थाहरुको पूर्ण चेतन रुपले अध्ययन गर्न आवश्यक छ र मनोगत इच्छाहरुलाई नभई वस्तुगत वास्तविकताबाट सुरु गर्नुपर्छ भनी सिकाउनु भएको छ । तर हाम्रा निकै कमरेडहरु यस सत्यको प्रत्यक्ष उल्लंघन गर्छन् ।

प्रतिक्रिया दिनुहोस्