माक्र्सवादको विमर्श गर्न १५ देशका कम्युनिष्ट नेता काठमाडौंमा भेला हुँदै


काठमाडौं, १४ जेठ । कार्ल माक्र्स द्विशतवार्षिकीका अवसरमा माक्र्सबादबारे विमर्श गर्न १५ देशका डेढ दर्जनभन्दा बढि कम्युनिष्ट पार्टीका नेताहरु काठमाडौंमा भेला हुने भएका छन् ।
विश्वबिख्यात सहस्राब्दी दार्शनिक कार्ल माक्र्स जन्मिएको द्विशतवार्षिकीका अवसरमा नेपाल कम्युनिष्ट पार्टी र नेकपा मसालका तर्फबाट आयोजित ‘माक्र्सवाद र समाजवाद’ विषयक अन्तराष्ट्रिय सेमिनारमा भाग लिन विश्वका कम्युनिष्ट पार्टीका नेताहरु काठमाडौंमा भेला हुन लागेका हुन् ।
जेठ १६ र १७ गते होटल याक यण्ड यतीमा आयोजना हुने अन्तराष्ट्रिय सेमिनारको उद्घाटन नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले गर्दैछन् । साथै, ओलीले कार्यक्रममा ‘नेपालको कम्युनिष्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया’का बारेमा कार्यपत्र प्रस्तुत गर्नेछन् । अर्का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले ‘आजको माक्र्सवाद र समाजवाद’बारे कार्यपत्र प्रस्तुत गर्नेछन् । चिनियाँ कम्युनिष्ट पार्टीसहित डेढ दर्जनभन्दा बढि विश्वका कम्युनिष्ट पार्टीका नेताहरुले सेमिनारमा कार्यपत्र प्रस्तुत गर्ने सोमबार आयोजित पत्रकार सम्मेलनमा कार्यक्रम संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले बताए ।

को–को सहभागी हुँदैछन् सेमिनारमा ?
सेमिनारमा कम्युनिष्ट पार्टी अफ चाईना, सोसलिष्ट अलायन्स(अष्ट्रेलिया), कम्युनिष्ट पार्टी अफ बंगलादेश, रिभुलसनरी वर्कर्स पार्टी अफ बंगलादेश, सोसलिस्ट पार्टी अफ बंगलादेश, एमएलपीडी(जर्मनी), कम्युनिष्ट पार्टी अफ इण्डिया, कम्युनिष्ट पार्टी अफ इण्डिया(माले) लिवरेसन, जापनिज कम्युनिष्ट पार्टी, वर्कस पार्टी अफ कोरिया, लाओ पिपुल्स रिभ्युलसनरी पार्टी, कम्युनिष्ट पार्टी अफ रसियन फेडेरेसन, कम्युनिष्ट पार्टी अफ श्रीलंका, जेभीपी(श्रीलंका), कम्युनिष्ट पार्टी अफ भियतनामले भाग लिँदैछन् । त्यस्तै, ब्राजिल, दक्षिण अफ्रिका, जाम्बियाको कम्युनिष्ट पार्टीका प्रतिनिधि पनि सेमिनारमा सहभागी हुँदैछन् ।
समाजवादले गरिबी होइन, समृद्धि वितरण गर्छ : नेपाल
अन्तराष्ट्रिय सेमिनार कार्यक्रम संयोजक तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले माक्र्सवाद र विश्व कम्युनिष्ट आन्दोलनको अनुभवको समीक्षाः आगामी दिनका चुनौति र सम्भावनाहरुबारे सेमिनारमा गहन विमर्श गरिने बताए । पहिलो पटक नेपालमा करिब दुई तिहाई बहुमतसहितको कम्युनिष्ट सरकार बन्नु धेरै ठूलो खुशीको विषय भएको भन्दै नेपालले माक्र्सवादलाई नेपालको परिप्रेक्ष्यमा लागू गरेर सरकारले सामाजिक–आर्थिक रुपान्तरण गर्दै मुलुकलाई समाजवादतर्फ अघि बढाउने विश्वास व्यक्त गरे । साथै उनले कतिपयले माक्र्सवाद र समाजवादलाई गरिवी वितरण गर्ने वाद र व्यबस्थाका रुपमा भ्रमपूर्ण प्रचार गर्ने गरेको प्रसंग उल्लेख गर्दै समाजवाद समृद्धि वितरण गर्ने, गाँस–बास–कपाससँगै उत्पादनको न्यायोचित वितरण गर्ने तथा सबै नागरिकको स्वाभिमान र मर्यादा उचाईमा पु-याउने व्यबस्था भएको उल्लेख पनि गरे । साथै उनले कांग्रेस र कम्युनिष्ट मिलेरै समाजवाद उन्मूख संविधान लेखेका कारण कम्युनिष्ट सरकारले त्यस दिशामा काम गर्ने बितिक्कै जस लेला कि, धेरै समय शासनमा टिक्ला कि भनेर कांग्रेसले संकीर्ण सोच राख्नुपर्ने कुनै आवश्यकता नरहेको बताए ।
पत्रकार सम्मेलनमा नेकपाका स्थायी समिति सदस्य बेदुराम भुषाल, केन्द्रीय सदस्यद्वय विष्णु रिजाल र युवराज चौंलागाईंको पनि उपस्थिति थियो ।

प्रतिक्रिया दिनुहोस्